Breaking News
Loading...

नेपाली फिल्मको पहिलो पोष्टर

२१ असार,२०७२
pahilo poster२०२३ सालमा निर्मित फिल्म ‘माइती घर’ को पोस्टर  र, पोस्टरबारे कुराकानी गर्दै कलाकार गेहेन्द्रमान अमात्य।

नेपाली फिल्मको इतिहासमा ‘माइती घर’ को आफ्नै स्थान छ। नेपालमै बनेको पहिलो फिल्म ‘आमा’ रिलिज भएको दुई वर्षपछि निजी तवरबाट यो फिल्म बनेको थियो। २०२३ सालतिरको कुरा हो यो । म तिनताक सूचना विभाग, सिंहदरबारमा कार्यरत थिएँ। ‘माइतीघर’ ले दर्शकहरूको मन यति जितेको थियो, यही फिल्मको अफिस भएको ठाउँको नाम कालान्तरमा माइतीघरकै रूपमा चिनियो। त्यो बेला थापाथलीको बसस्टप छेउ यो फिल्मको अफिस थियो । बाहिर ‘माइतीघर’ लेखिएको ठूलो साइनबोर्ड थियो। खलासीले यात्रु ओराल्ने र चढाउने गर्दागर्दै यो ठाउँको नामै माइतीघर रहन गयो।

त्यति बेला अहिलेको जस्तो फिल्मको पोस्टर बनाउने चलन थिएन। ठाउँठाउँमा ठूल्ठूला होर्डिङ बोर्ड बनाउँथे कलाकारले। कतै ब्यानर लेखेर झुन्ड्याइन्थ्यो। फिल्म ‘आमा’ का लागि काठमाडौंमा निर्देशक हीरासिंह खत्रीले कोलकाताबाटै तीन/चारवटा होर्डिङ बोर्ड ल्याएका थिए। त्यो होर्डिङ बोर्ड मैले कोलकाता जाँदा हीरासिंहको घरमा रक्सी खाँदै हेरेको पनि थिएँ। पछि नेपाली फिल्मको पहिलो पोस्टर बनाउने अभिभारा मलाई नै प्राप्त भयो। होर्डिङ बोर्डसँगै पोस्टरमा पनि प्रचार गर्ने शैली ‘माइतीघर’ बाटै सुरु भएको हो।

सूचना विभागकै काममा व्यस्त भइरहेका बेला एक दिन एक अपरिचित मान्छे मलाई खोज्दै सिंहदरबार आइपुगे। उनले मलाई त्यति बेलाको चर्चित हिरोइन माला सिन्हा र माछापुच्छ्रे देखिने एउटा गाउँको गरी दुइटा तस्बिर दिँदै ‘माइतीघर’ फिल्मको पोष्टर बनाउन आग्रह गरे । त्यतिबेला नाचघरमा हुने नाटकहरूको पोस्टरका लागि म चर्चित थिएँ। श्यामदास वैष्णवका धेरै नाटकहरूको पोस्टर मैले बनाएको थिएँ त्यतिबेला। एउटै नाटकका पनि हजारौं हस्तलिखित पोस्टर बनाइसकेको थिएँ। ‘माइती घर’ को पोस्टर बनाउन भने मलाई निर्माता जनरल नरशमशेरले मान्छे पठाएका रहेछन्।

माला सिन्हाको म आफैं पनि फ्यान थिएँ तिनताक। धर्मेन्द्रसँग उनी अभिनीत हिन्दी फिल्म ‘नीला आकाश’, ‘पूजा के फूल’ जस्ता फिल्म हेरेको थिएँ। त्यो दिन मेरो अफिसको टेबुल अगाडि उनै माला सिन्हाको फोटो आइपुगेको थियो। मैले मालाको तस्बिरलाई अग्रभागमा पारेर पृष्ठभागमा माछापुच्छ्रे र गाउँलाई जोडिदिएँ ।

सबैभन्दा माथि ‘माला सिन्हा अभिनीत’ भनेर लेखें। निर्देशक थिए बीएस थापा अनि संगीत जयदेवको। दुवै तस्बिरलाई रंगमा उतारेर पोस्टर बनाउन मलाई ६ दिन लाग्यो। अहिलेको जस्तो कम्प्युटर थिएन। सानो बनाएर ठूलो पारेर हेर्ने फोटोसप पनि थिएन। जे बनाए पनि रियल साइजमै बनाउनुपथ्र्यो। पेनड्राइभ र सीडी/डीभीडीको चलन पनि थिएन। ६ दिनको मिहिनेतबापत मैले दुई सय रुपैयाँ पाएको थिएँ। त्यतिबेला त्यो दुई सयको भ्याल्यु निकै नै हुन्थ्यो।

मैले काम सकाएपछि त्यो मास्टर कपी दिल्ली लगियो । त्यहाँको जेपी प्रिन्टर्समा स्टोन लिथोग्राफी प्रविधिबाट छापिएर आएपछि काठमाडौंका भित्ताहरूमा यो सजिन थाल्यो ।

यो पोस्टर पछि बिस्तारै भारतको दार्जिलिङ, सिलिगुडी हुँदै असमसम्म पनि पुग्यो। मैले चाहिँ यता काठमाडौंको पोस्टर बनाएबापत पहिलो सो पनि नि:शुल्क हेर्न पाएँ। जय नेपाल हलमा प्रिमियर भएको थियो यो फिल्मको। हुन त म प्राय: त्यतिबेला फिल्म फ्री नै हेर्थें। कान्तिपथको श्री हल र पाटनको अशोक हलको म्यानेजर मेरा मामा नारायणलाल राजभण्डारी हुनुहुन्थ्यो। भान्जालाई पैसा लिने कुरै भएन ।

त्यति बेला थापाथलीमा मुनलाइट हल, न्युरोडमा जनसेवा हल, रञ्जना हल, ठमेल काठमाडौं गेस्ट हाउसछेउ जलजला हल पनि थियो। फिल्म हेर्नेको घुइँचो लाग्थ्यो। फिल्म रिलिजकै समय माला सिन्हा काठमाडौं आएकी थिइन्। टाढैबाट हेरें मैले, भेटघाट भने हुन सकेन।

तर, फिल्म सँगसँगै मेरो पोस्टर पनि हिट भयो। पोस्टरको हरेक प्रतिमा मेरो हस्ताक्षर थियो– गेहेन्द्र। अफिसमा कुराकानी हुन थाल्यो। त्यतिबेला फिल्म, रेडियो, गोरखापत्र सबै सूचना विभागकै प्रत्यक्ष रेखदेखमा चल्थ्यो। पछि म सूचना विभाग अन्तर्गतकै फिल्म शाखाको प्रमुख भएँ, चलचित्र संस्थान नबनुन्जेल।

प्रस्तुति : फूलमान वल / कान्तिपुर दैनिक

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top