Breaking News
Loading...

नयाँ संविधान र ‘निलो चलचित्र’

-श्री आचार्य
Shree-acharyaचर्चा, अहिले संविधानको छ कि ‘नीलो फिल्म’ खेलेर त्यसको स्टार बन्छु भन्ने उद्घोष गर्ने एक नेपाली चेलीको । दुवै आ–आफ्नो ठाउँ र आ–आफ्नो विचार–बाटोमा ठीक होलान् वा वेठीक– त्यो भविष्यले बताउला । तर यी दुवै हाम्रो वर्तमान समाजले निषिद्ध गरेको बाटोमा छन् । त्यसैले चर्चामा छन् । विचार र वाटो आ–आफ्नो हो, हुन्छ । समाजले दोष देखाउनु वा घृणा गर्नु बेग्लै हो । यद्यपि कोही भन्छन्, समाज भन्नु भय र संकीर्णताको जमघट हो । यसलाई बदल्नैपर्छ, नत्र प्रगति हुन्न । जो समाज बदल्न खोज्छ त्यो निश्चय नै चर्चामा आउँछ । हो, निर्भय र उदार व्यक्तिले नै समाज बदल्छन् । त्यो भनाइ सही पनि होला । तर पनि समाज–सापेक्ष जीवन नै सहज, सरल र सुखी हुन्छ । सामाजिक यथार्थ र त्यसको वास्तविक धरातलबाट भिन्न जीवनको कल्पना गर्न सकिन्न । कि समाजलाई आफ्नो पक्षमा पछि लगाउन सक्नुपर्छ कि त समाजमा जे चलेको छ त्यसमा चल्नुपर्छ । तवमात्र सफलता मिल्छ, नत्र मिल्दैन । त्यसैले भनिएको होला, एक्लो वृहस्पति झुट्टा ।
मलाई थाहा छैन, यो संविधान झुटो हो कि ती चेली झुटो हुन् वा दुवै । यतिखेर देखिएको सत्य चैं के भने, दुवैलाई नेपाली समाजले स्वीकार नगरेको बाटोमा बलात् हिड्न लगाइएको छ । भविष्य कस्को कस्ले के भन्न सक्छ र ! तर वर्तमानमा दुवै समाज–पाच्य छैनन् । अर्थात्, एउटी नेपाली चेलीमा ‘नीलो फिल्म’ प्रतिको आकर्षण गहिरिनु र संविधानमा धर्मनिरपेक्षता र संघीयताको मोह भरिनु उस्तै हो । नितान्त, नेपाली समाज र संस्कार विपरीत काम–कुरा । तथापि, दोष न संविधानको हो न ती चेलीको । संविधानसभाका हाम्रा प्रतिनिधि माननीयहरुले जसरी जे लोभ र बुद्धिमा यो बाटो रोजे त्यसरी नै ती चेलीकी आमाले छोर्रीको लागि त्यो बाटो रोजिन् । दुवैथरीलाई लागेको छ, बाटो त्यही सही हो । हेरौं र हिड्दै जाम्, जहाँ त पुगिएला– समाजले के स्वीकार्छ, के स्वीकार गर्दैन । आखिर, नीला फिल्म पनि त चलेकै छन् र बजार पाएकै छन् ।archanaयहाँ एकथरीको मान्यता छ ः समाजसापेक्ष वा समाज–निषिद्ध बाटाहरु जे जति समाते पनि गणतान्त्रिक नेपालको नयाँ संविधान आयो । जे जसरी र जस्तो भए पनि संविधान आयो । राम्रो यही हो । हामी को कसैलाई केही मन नपर्ने कुरा होलान्, भए । यथा कि, संघीयता चाहिदै चाहिन्न, हिन्दुराष्ट्र नभै हुन्न– भन्ने मत राख्ने धेरै होलान् । उनीहरूको कुरा सुनिएन । त्यस्तै तराई–मधेस र थरुहटको माग–मुद्दा पनि ओझेलमा पर्यो । त्यतातिर अझै आन्दोलन चलिरहेको छ । तर त्यो अब बेग्लै हो ।

यसकारण कि हामी आफैं जनताले चुनेर बनेको संविधानसभाले संविधानसम्मत ढंगले बनाएको संविधान हो यो । यसमा हाम्रा प्रतिनिधि– दुई तिहाइले समर्थन जनाएका छन् । केही असन्तुष्टहरुले भिन्न मत दर्ज गरेका पनि छन् । केहीले संविधानसभा नै वहिष्कार गरे । यो सब प्रजातान्त्रिक अभ्यास हो । अतः यो संविधान पूर्णतः प्रजातान्त्रिक प्रक्रियाबाट बनेको छ । यसमा विमति राख्ने ठाउँ छैन । मूल कुरा, मनपर्नेहरूलाई जनतामा गएर आफ्ना कुरा राख्ने र चुनावमार्फत आफ्नो उचाइ बढाएर आफूलाई मन पर्ने कुरा संविधानमा राख्न पाउने अधिकार यो संविधानले प्रत्याभूत गरेको छ । यसको सबैभन्दा सुन्दर र विशिष्ट पक्ष यही हो । अन्य कुराहरू सबै तपसिलमा पर्छन् । भोलि चाहेअनुसार बदल्न सकिन्छ ।

राजनीतिको रांैचिरा भेद गरेर त्यसैको विश्लेषणमा रमाउने तिनीहरूसग धेरै बहस नगरौं । यो संविधानमा केही राम्रा पक्ष होलान् । छन् पनि । तर त्यो सौन्दर्य केका लागि प्रयोग भयो भन्ने कुरा महत्वको हुन्छ । नीला फिल्मका कलाकारहरूको जीउ–डाल, आखा–ओठ, कटी–कम्मर, आनी–बानी रामै्र होला, हुन्छ नै । त्यसैले त उनीहरू बिकेका छन्, बिक्छन् । अनि त विकसित भनिएका देशका नीला फिल्मका कलाकारहरूले पैसा कमाएर सानले ऐस–आरामको जिन्दगी बिताएका छन् । नेपाली चेली त्यत्तिकै मोहित भएकी हैनन् ।
अर्थात् त्यस्तै मोहमा यो संविधानको सम्पूर्ण सौन्दर्य धर्मनिरपेक्षता र संघीयताले लुट्यो र नेपालको विश्व–पहिचानको सौन्दर्य बेचियो । अनि मात्र यो एक थान संविधान आएको हो । अब के हुन्छ, भविष्य थाहा छैन तर आजको यथार्थ यही हो ।

हो, देश–विकास र जनहितको मार्गमा एक थान संविधान नै सबैथोक होइन । संविधान पछि गर्नुपर्ने धेरै बाकी हुन्छ । यो त मात्र साधन हो । तथापि संविधानमा सबैलाई मनपर्ने सबै विषय र विचार समावेश गर्न पनि सकिदैन । सत्य यही हो । तर समाजलाई अलग्याएर व्यक्तिव्यक्तिका इच्छालाई समावेश गर्दा कुबाटो लागियो र ऊट बन्यो । स्पष्टै छ, यो संविधान भिन्नभिन्न राजनीतिक सिद्धान्तमा आस्था र विश्वास गर्ने पार्टी नेताहरूबीचको सम्झौता हो । सम्झौता अर्थात् जो जति पक्ष सम्झौताको टेबुलमा बस्छन् तिनका बीचको वैयक्तिक लेनदेन । भन्नु परोइन, लेनदेन गर्दा आफूलाई राम्रो लागेको र सबैभन्दा बढी मन पर्ने विषय–विचार वा वस्तु–पदार्थ कसैले छोड्दैन ।

आफूलाई कम राम्रो लागेको छोडिन्छ र अति राम्रो समावेश गरिन्छ । थाहै छ, सृष्टिकर्ता ब्रह्माजीले कसैसग सम्झौता नगरी राम्रो, राम्रो, अति राम्रो छानेर जीव रचना गर्दा कुरुप ऊट बन्यो । भने, यहा एकले अर्कोसग सम्झौता गरेर हरेकको आ–आफ्नो राम्रो, राम्रो राख्दा यो संविधान कस्तो बनेको छ– त्यो आफैं हेर्नुस् । तथापि दोष ऊटको हैन, ब्रम्हाको हो । उनको बुद्धि बढी भएको हो । बुद्धि बढी भए पछि सौन्दर्यको दुरुपयोग हुन्छ । ऊट बन्छ र नीला फिल्महरू पनि बन्छन् । मान्छे न हो, ऊटै चढेर पनि रमाउछ । नीला फिल्म हेरेर पनि आनन्द लिन्छ । धेरै किन !
-देशान्तर साप्ताहिक

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top