Breaking News
Loading...

नाकाबन्दी र चलचित्र प्रभाव

-नविन थापा
६५ बर्षे लामो संघर्ष र पर्खाइका बीच गत असोज ३ गते संबिधानसभाबाट पहिलो पटक संघीय लोकतान्त्रिक संविधान नेपाली जनताले पाए । तर ३ गते पश्च्यातका प्रत्येक पल तनाब र चुनौतीसंग झेलिएका छन् ।nakabandi-picनेपालको ठुल्दाई मानिने छिमेकी राष्ट्र भारतले जारी संबिधानमा असहमति प्रकट गर्दै उसले भने अनुरुपको संशोधन र तराईमा बिगत महिनादिन देखि जारी हिंसात्मक आन्दोलन तथा विरोध प्रदर्शन नरोकिएसम्म अघोषित नाकाबन्दी गरेको छ ।

लभभग एक दशकसम्मको संक्रमणकालीन अवस्था अन्त्य गर्दै नेपालमा संविधान पारित भएकोमा अन्तर्राष्ट्रिय समुदायले समेत खुसी प्रकट गरेको छ। तर मधेसीको माग संविधानमा नसमेटिएको भन्दै छिमेकी भारतले भने अनपेक्षित व्यवहार गरिरहेको छ । सबैभन्दा निकट मित्रराष्ट्र भारतले आफुभन्दा २० गुणा सानो राष्ट्र नेपालमाथी गरेको अघोषित नाकाबन्दीको प्रभाव नेपाली समाजमा बिस्तारै देखापर्दै छ ।

यसो त यो प्रभावको मूल कारक सताब्दीऔ देखिको भारत केन्द्रिकृत / निर्भर नेपाली समाज हो । नेपाली राजनीतिमा भारतको हस्तक्षेप र निर्णायक भूमिका तत्कालीन परिवेशको मात्र उपज नभएर यसले निकै लामो इतिहास तय गरेको विषय हो । राणा प्रधानमन्त्रीको विरुद्धमा कदम चाल्न तत्कालीन राजाहरू भारतकै शरण पर्न बाध्य हुनाले भारतले नेपालका निम्ति आफ्नो भूमिका त्यतिबेलादेखि नै निर्णायक बनाउन सफल भयो । जसको परिणाम स्वरूप नेपाली समाजको प्रत्येक हिस्सामा एक क्षत्र राज गरेको भारतद्वारा सिर्जित आजको यो अवस्थाको भागेदार सारा नेपाली बन्नुपरेको छ ।

तत्काललाई बिशेषत: पेट्रोलियम पदार्थ र खाद्य सामग्रीमा अभाव देखिएपनि समयक्रमसंगै सबैक्षेत्रमा नाकाबन्दीको व्यापक प्रभाव देखिदै जाने छ । त्यसो त औषधिलगायत अन्य अत्यावश्यक वस्तु पनि मूलतः भारतबाटै आयात गरिन्छ । नेपालको अर्को छिमेकी राष्ट्र चीनसँगका चल्तीका नाकाहरू भुइँचालोका कारण क्षतिग्रस्त भएका छन्। संबिधान निर्माण पश्च्यात नेपालको सार्वभौमिकता र नेपाली राजनीतिमा आफ्नो प्रभुत्व कायम राख्न असक्षम भारत यतिबेला मधेस आन्दोलनको निहुँ देखाएर नाकाबन्दीमा उत्रिएको छ ।

यसैबीच विभिन्न राजनीतिक दलसंगै नागरिकहरुमा नेपालमा भारतीय चलचित्र तथा विज्ञापन बन्द गर्नुपर्ने माग उठेको छ । नेपालीहरुको टेलिभिजन सेटमा नेपाली भन्दा बढी भारतीय च्यानलले राज गरेका छन् । बालबच्चा देखि गृहणी,बृद्धबृद्धामा समेत भारतीय सिरियल र चलचित्रहरुले प्रभाव जमाई रहेका छन् ।

नेपाली चलचित्र क्षेत्रको परिपेक्षलाई नियाल्दा करीब ५० वर्षको इतिहास भएर पनि नेपाली चलचित्र अझै उद्योग हुनसकेको छैन । सन् १९४७ मा स्वतन्त्र भएपछि भारतमा चलचित्र निर्माण एवं प्रदर्शनले व्यापकता पाएको प्रभाव नेपालमा पनि पर्‍यो । नेपालीहरू दर्शकहरु नेपाली चलचित्रको स्वाद नचाखी ध्वनि सहितको भारतीय चलचित्र हेर्ने बानीमा परे।

निर्देशक र कलाकारहरूहरु भारतीयनै राखेर वि.स. २००७ मा भारतमै पहिलो नेपाली चलचित्र ‘सत्यहरिश्चन्द्र’ बन्यो । बि.स. २०२२ मा नेपालमै ‘आमा’ बन्यो, तर त्यसको पनि निर्देशक देहरादुनका हीरासिंह खत्री थिए । ‘माइतीघर’, ‘परिवर्तन’ र ‘हिजो आज भोलि’ पछि बल्ल नेपालमा नेपालीद्वारा चलचित्र निर्माण हुन थाले । ज्ञान र अध्ययनबिनै, अनुभव र आँटका भरमा नेपाली चलचित्र बने ।

लगत्तै मौलिकता बिनाका त्यस्ता चलचित्रले दर्शक तान्न नसक्दा भारतीय चलचित्रको नेपाल प्रभाव जमेर बस्यो । तर, केहि बर्ष अघिसम्म भारत केन्द्रित नेपाली सिने बजारले पछिल्लो समय केहि राहत पक्कै पाएको छ । व्यक्ति–व्यक्तित्व र समाज–सामाजिकता अभिव्यक्त नभएको चलचित्रलाई सफल मानिंदैन ।

सामाजिक परिवेश, संस्कृति, परम्परा, भाषा, समाजको संवेदनशीलता आदिलाई कथावस्तु बनाएर चरित्रको चारित्रिक गुणहरूको चित्रण गर्न नेपाली चलचित्र निर्देशक अगाडी देखिएका छन् । जसका कारण नेपाली दर्शक नेपाली चलचित्रमा आकर्षित हुदै गएका छन् ।

संबिधान निर्माण पश्च्यात रुष्ट भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपाली जनताको दैनिकीमा जसरी प्रत्यक्ष प्रभाव पर्दै गएको छ । त्यसरीनै नेपालले भारतलाई आफ्नो जवाफ दिने समयपनि आएको छ । नेपालबाट बार्षिक अर्बौ रुपैयाँ भारतीय चलचित्रले कमाउने गरेका छन् । तर,नेपाली चलचित्र भारतमा भने प्रदर्शन हुदैनन् । यता, चलचित्र क्षेत्रबाट अर्बौ रुपैया भारत भित्रिरहेको छ भने नेपाली चलचित्रले प्रत्यक्ष नोक्सानी ब्यहोर्नु परी रहेको छ ।

नाकाबन्दीको बिरोध स्वरूप तत्काललाई नेपालमा भारतीय चलचित्र प्रदर्शन तथा टेलिभिजन प्रशारणमा रोक लगाउनु जरुरी छ । करोडौ लगानीमा संचालित मल्टिप्लेक्स हल ब्यबसायीहरु आफ्नो स्वार्थमा केन्द्रित नभएर परिस्थितिलाई नियाल्दै राष्ट्रिय स्वाभिमान रक्षाका निमित्त यो बिरोधमा ऐक्यबद्धता जनाउनु जरुरी छ ।

भारत रुष्ट भएकाले अब नेपालमा उसले योत्यो दुःख दिनसक्छ भनेर आत्तिनुभन्दा बढी उसका आवश्यकता पनि बुझ्नु जरुरी छ। नेपालमा आफ्ना सामान निर्यात नगर्दा नेपाललाई भन्दा बढी घाटा भारतलाई नै हुन्छ । आफ्नो उत्पादनको ठूलो हिस्सा खपत हुने नेपाली बजारलाई उसले बेवास्ता गर्नसक्दैन। आफूभन्दा समृद्ध र सशक्त चीनले नेपाली बजारलाई एकलौटी बनाउला भन्ने डर भारतलाई पनि पक्कै पनि छ । त्यसैले सुरुमै वा केही समय डर देखाएर घुँडा टेकाउने उसको नियतलाई सबै नेपालीले बुझेर व्यावहारिक कौशलमार्फत् त्यसको प्रतिकार गर्नुपर्छ ।

हाम्रै जीवनमा आइरहने यी दुःख भावी सन्ततिले नपाऊन् र नेपाल एउटा अखण्ड र अक्षुण्ण राष्ट्र बनिरहोस् भन्ने हो भने आर्थिक समृद्धिको स्वावलम्बी बाटोमा अघि बढ्नुपर्छ । भारतीय नाकाबन्दीविरुद्ध वैकल्पिक आपूर्ति व्यवस्थाका निम्ति पहल गर्नुपर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउने र नाकाबन्दीका विरुद्ध विरोध प्रदर्शन गर्नु पर्ने पछिल्लो आबश्यकता हो ।

नेपालको सार्वभौम सत्ताको अभ्यास नेपाली जनताले स्वतन्त्रतापूर्वक गर्न पाउछन् र यो नेपाली जनताको राष्ट्रिय अधिकार हो । भारतसँग वार्ता गरेर समस्याको समाधान खोज्दै चीनसँग नाकाहरू खोल्न विशेष अनुरोध गर्ने हो भने असल छिमेकीका रूपमा हुनसक्ने जति सहयोग चीनबाट पनि पक्कै प्राप्त हुनेछ । त्यसले भारतमा नेपालको निर्भरता कम हुनेछ । परनिर्भर हुन नपरे स्वतन्त्रता पनि बढी अनुभव गर्न पाइनेछ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top