Breaking News
Loading...

साभार | फिल्म अवार्डका स्क्यान्डल | यस्तो छ नेपाली फिल्म अवार्डको नालीबेली

१६ आश्विन २०७२,काठमाण्डौ ।
केही वर्षयता नेपाली सिनेजगत्मा अवार्डको ‘फेसन’ बढेको छ । बर्सेनि दिइने अवार्ड मात्रै नौवटा छन् । अवार्ड दिनेको सूचीमा गत वर्षदेखि राष्ट्रिय विकास बोर्ड पनि थपिएको छ । चलचित्र विकास कम्पनीले तीन वर्षयता ‘एनएफडिसी नेसनल फिल्म अवार्ड’ प्रदान गर्दै आएको छ । तर, अधिकांश यस्ता अवार्ड विवादको घेरामा नतानिइरहन सकेका छैनन् ।aryan and priyanka karkiकेही दिनअघि नेपाल चलचित्र प्राविधक संघले आयोजना गरेको आठौा संस्करणको नेफ्टा फिल्म अवार्डमा सहभागी हुन कतार गएका कलाकर्मीको दुबई विमानस्थलमा बिचल्ली भयो । कलाकर्मीले गुनासो बढाउदै गए पनि विदेशमा अवार्ड समारोह आयोजना हुन रोकिएको भने छैन । दुबई, मलेसिया, हङकङ र कतारमा फिल्म अवार्ड अयोजना भइसकेका छन् । निकट भविष्यमा थाइल्यान्ड र बेल्जियममा पनि अवार्ड समारोह गरिने तय भएको छ । कति अवार्ड त बीचैमा अलपत्र परेका पनि छन् । विवादरहित रहन नसकेका अवार्ड वितरणको जालझेल, चलखेल र स्क्यान्डलबारे नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले नालीबेली तयार पारेका छन् :
जुरीमाथि प्रश्न, नातागोताले पाउँछन् अवार्ड
नेपाली फिल्मसम्बन्धी भएका अधिकांश अवार्ड विवादमुक्त र आलोचनारहित छैनन् । चाहे त्यो राज्यले गर्ने (चलचित्र विकास बोर्ड) अवार्ड होस् या निजी क्षेत्रका बग्रेल्ती संघसंस्थाले । गत वर्ष मात्र होइन, यसपालि चलचित्र विकास बोर्डले गरेको अवार्ड पनि विवादमुक्त रहन सकेन ।

गत वर्ष राष्ट्रपति कार्यालयमा ०६७, ६८, ६९ र ७० गरी चार वर्षको अवार्ड एकैचोटि प्रदान गरियो । ०६७ सालको उत्कृष्ट अभिनेत्री घोषणा भएकी अभिनेत्री रेखा थापाले समेत त्यो अवार्डको विरोध गरिन् । राष्ट्रपतिको हातबाट अवार्ड लिन पनि नगएकी रेखाले अवार्ड जितेका अन्य कलाकारको विरोध गरिन् । त्यतिवेला ‘मसान’ फिल्मबाट ०६९ को सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्ड नीता ढुंगाना र ‘झोला’बाट ०७१ को सर्बोत्कृष्ट अभिनेत्रीको अवार्ड गरिमा पन्त, ‘रिदम’बाट ०६९ को सर्वाेत्कृष्ट अभिनेताको अवार्ड विल्सनविक्रम राईलाई दिइएको थियो ।
विदेश जान, अवार्ड जित्न पैसाको माग
चलचित्रका अवार्डमा चलचित्र क्षेत्रका सबैलाई समेट्नुपर्ने हो । तर, चलचित्र प्राविधिक संघले विदेशमा आयोजना गरेको अवार्डमा ‘टप फाइभ नोमिनेसन’मा परेका सबैलाई नलगेर विभेद गर्दै आएको छ । यसपालि कतारमा सम्पन्न अवार्डमा मात्रै होइन, यसअघि मलेसिया र हङकङमा गरिएका अवार्डमा पनि धेरै चलचित्रकर्मीलाई छुटाइयो ।

इन्फा अवार्डको त झन् कुरै भएन । निर्देशक दीपक श्रेष्ठको ठेक्कापट्टामा सम्पन्न सो अवार्डमा त झन् निर्मातालाई नसोधीकनै हचुवाका भरमा फिल्म समावेश गरिएको थियो । हालै कतारमा सम्पन्न आठौँ संस्करणको नेफ्टा फिल्म अवार्डमा काठमाडौंबाट जो–जो कलाकर्मी लगियो, अवार्ड पनि उनीहरूलाई नै दिइयो । त्यसअघि विदेशमा गरिएका अवार्डमा पनि यस्तै भएको थियो । त्यसकारण अवार्ड कसले पाउला भन्ने कुतूहलताको कुनै अर्थ रहँदैन । गत वर्ष हङकङमा सम्पन्न अवार्डमा जान भिसा लगाइदिइसकेपछि ‘लास्ट आवर’मा नेफ्टा पदाधिकारीले केही चर्चित कलाकर्मी तथा सञ्चारकर्मीसँग ५० हजार रुपैयाँ मागेका थिए । त्यसमध्ये केहीले पैसा तिरेर हङकङ उडे, केही उडेनन् । विरोधमा उत्रिए ।
अवार्डमा लैजाँदा कलाकारकै बेइज्जत
नेफ्टाले कतारमा गरेको अवार्डका लागि काठमाडौंबाट लगेका तीन दर्जन बढी कलाकारले दोहाको सरजाहा एयरपोर्टमा झमेला बेहोर्नुपर्‍यो । कमजोर व्यवस्थापन, आयोजकको लापरबाही तथा अज्ञानताका कारण इमिग्रेसनमा १५ सय डलर चाहिनेमा पाँच सय डलर भए पुग्छ भनेर सास्ती दिइयो । जसकारण निखिल उप्रेती, सञ्चिता लुइँटेलजस्ता चर्चित कलाकारहरू पनि सरजाहा ‘ट्रान्जिट’मा घन्टौँ अलपत्र बस्नुपर्‍यो ।

उद्धव पौडेललगायतका निर्माता भने त्यो झमेलाबाट मुक्त हुन कतार नगई मुम्बईतिर लागे । त्यति मात्रै नभई अवार्डका लागि लगिएका कलाकारको बस्ने, खाने व्यवस्थामा पनि निकै कमजोरी भएको थियो । अवार्ड सकेर काठमाडौं फर्किएका एक प्राविधिकले नाम नलेख्ने सर्तमा भने, ‘के गर्नु आफ्नै संघ हो । तर, यसपालि भने कलाकारको साह्रै बेइज्जत भएको छ । बहुतै दु:ख पाएर आइयो । अब त कहिल्यै जान्नँ ।’
तीन–चारपटक डेब्यु ?
नेफ्टा अवार्डमा यसपालि हसन खानले डेब्यु हिरोको अवार्ड पाए । आफूले निर्माण गरेको ‘अलबिदा’ फ्लप भएपछि कतार भासिएका हसनले आफ्नै ‘इलाका’मा अवार्ड थापे । डेब्यु हिरोको अवार्ड ‘जित्दा’ उनी खुसी हुनु त स्वाभाविकै हो, तर उनलाई नजिकबाट चिन्ने फिल्मकर्मीहरू भने मज्जैले हाँसे । कारण, ‘अलबिदा’भन्दा अगाडि नै उनले आरबिके शरदको ‘नाइट क्विन’, ‘साथी म तिम्रो’, ‘नाइके’लगायतका फिल्ममा अभिनय गरिसकेका थिए । ती सबै फिल्म ‘अलबिदा’भन्दा अगाडि नै रिलिज पनि भएका थिए । आयोजकले हसनलाई कसरी डेब्यु हिरोमा ‘नोमिनेसन’ गर्‍यो, बडो गजबको कुरा छ ।
त्यसैगरी, ‘कबड्डी’बाट निर्देशक रामबाबु गुरुङलाई डेब्यु निर्देशकको अवार्ड दिइयो । ‘कबड्डी’भन्दा अगाडि उनले ‘अनागरिक’ र ‘ब्लक लिभ’ नामक दुई फिल्म निर्देशन गरिसकेका थिए । अनि कसरी भए डेब्यु, यसमा कसरी नछुटोस् त हाँसोको फोहोरा †
नाममात्रका जुरी
निजी क्षेत्रका अवार्डको आलोचना र विवाद झन् धेरै हुन्छ । कतिपय अवार्डका जुरीमा यस्तासम्म व्यक्ति भेटिन्छन्, जसले नेपाली फिल्म नहेरेको वर्षौँ भएको हुन्छ । पूरा फिल्म नहरेकीकनै हचुवाका भरमा निर्णय गर्छन् । अझै तीमध्ये कतिलाई त फिल्मवृत्तमा न कसैले चिन्छन्, त उनीहरूको फिल्मसम्बन्धी खास कुनै दख्खल हुन्छ । मात्र सम्बन्ध र ‘जी, हजुर’का आधारमा जुरी बनाइन्छ ।
अवार्डमा वर्षभरि प्रदर्शन भएका यति फिल्म सामेल छन् भनिन्छ । तर, जुरीले ती सबै फिल्म हेरेकै हुँदैन । आयोजकको मनोमानीका आधारमा अवार्ड प्रदान होइन, वितरण गरिने गरिएको छ । भदौ अन्तिम साता सम्पन्न एनएफडिसी फिल्म अवार्डको जुरीमा एक थिए, छायाकार मञ्जुकुमार श्रेष्ठ । ‘तपार्इंले ०७१ मा रिलिज भएका सबै फिल्म हेर्नुभयो त ?’ भनी कुरा फुत्काउँदा उनले फ्याट्ट बोलिहाले, ‘सबै त कहाँ हेर्नु, उनीहरू (आयोजक)ले ‘टप फाइभ’ फिल्म भनेर देखाएका थिए । त्यसैबाट निर्णय गरियो । ल, हेर्नुस्, नेपाली फिल्म अवार्डको खास ‘जुरी’ को हुँदो रहेछ, यहीँबाट प्रस्ट हुन्छ । एनएफडिसी अवार्डमा मात्रै होइन, अरू अवार्डमा समेत जुरीभन्दा आयोजक नै हाबी हुने र निर्णय गर्ने गरेको पाइन्छ ।
आफैं पैसा तिर्ने अनि अवार्ड थाप्ने
बग्रेल्ती फिल्म अवार्डमा त्यत्तिकै कहाँ सहभागी हुन पाइन्छ र ? त्यसका लागि प्रतिफिल्म आयोजकले २५ सयदेखि पाँच हजार रुपैयाँसम्म फिल्म दर्ता शुल्क लिने गर्छ । नेफ्टा, बक्सअफिस अवार्डका लागि निर्माताले नगद पाँच हजार रुपैयाँ तिर्नुपर्छ भने डिसिने अवार्डका लागि भने २५ सय भए पुग्छ ।

गोपीकृष्ण इन्टरटेन्मेन्टको पूर्ण संलग्नतामा आयोजना हुँदै आएको एनएफडिसी फिल्म अवार्डका लागि भने टिभी फिल्मीमा प्रोमो बजाउन गएकै वेलामा पहिल्यै एग्रिमेन्ट हुने गरेको रहेछ । एनएफडिसी अवार्डका आयोजकले आफ्नै सुर र तालमा निर्माताका फिल्म प्रतिस्पर्धामा हालिदिन्छन् । उनीहरू कसैलाई ‘तेरो फिल्म अवार्डमा सहभागी गराउने कि नगराउने, कुन विधामा को छ ?’ भनेर पनि सोध्दैनन् । उनीहरू आफैँ सर्वज्ञाता बन्ने गरेका छन् । कतिपय निर्माता, निर्देशकले त आफ्नो फिल्म उनीहरूको अवार्डमा सहभागी भएको समेत चाल पाउने गरेका छैनन् ।

चलचित्र विकास बोर्डले गर्ने अवार्डमा फिल्म बुझाउँदा भने पैसा तिर्नुपर्दैन । सेन्सर सर्टिफिकेटसहित १० रुपैयाँको टिकट टाँसेर बोर्डले बनाएको फर्म भरे पुग्छ । पैसा तिर्नुपर्ने भएकाले पनि अधिकांश निर्माताहरू अवार्डका लागि फिल्म दिन चाहँदैनन् । ‘केही अवार्ड पाइने होइन, फोकटमा किन पैसा तिर्नु,’ अधिकांश निर्माताको एउटै भनाइ छ, ‘तर के गर्नु, आयोजकले मोबाइलको ब्याट्री सिध्याउने गरी फोन गरेर हैरान पार्छन् । अनि खोजखाज गरेर भए पनि पैसा दिनुपर्छ ।’ झोला फिल्मले कुनै अवार्डमा सहभागिता जनाएन, निर्माता, निर्देशकले जितेको अवार्ड पनि लिन गएनन् ।
कलाकारकै कमी
फिल्म अवार्ड वितरण कार्यक्रममा चल्तीका कलाकारको उपस्थिति निकै न्यून हुने गरेको पाइन्छ । आफूले अवार्ड पाउने छाँट नदेखेपछि बेकारमा किन जानु भन्ने मानसिकता उनीहरूमा पाइन्छ । अझ, अवार्डमा नाच्ने कलाकारको त झनै खडेरी हुने गरेको छ । ‘अवार्ड पनि पाइने होइन, फोकटमा किन नाच्नु ?’ एउटी चर्चित हिरोइनले भनिन्, ‘बरु घरमै सुतेर बसिन्छ । विनापैसा नाचेर आयोजकलाई धनी बनाउने काम गरिन्न ।’

अधिकांश अवार्ड कार्यक्रममा अवार्ड पाउने पक्का भएका कलाकार मात्र जाने गरेको देखिन्छ । त्यसबाट पहिल्यै थाहा हुन्छ कि अवार्ड कसले पाउँदै छ । त्यसकारण पनि अवार्ड गहकिला बन्न सकेका छैनन् ।
कहाँ राख्नु अवार्ड ?
गत वर्षसम्म एउटा फिल्म अवार्डमा सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जितेको घोषणा भएपछि स्टेजमा जाँदै गर्दा ती अभिनेताले भनिहाले– फेरि कहाँ राख्नु यार अवार्ड, कोठै भरिइसक्यो । बिचरा, उनलाई अवार्ड पाएकोमा खुसीभन्दा राख्ने ठाउँ अभावको चिन्ता देखिन्थ्यो । यसैबाट प्रस्ट हुन्छ, त्यो अवार्डको गरिमा कतिसम्म रहेछ ।
गरिमा छैन अवार्डको
अवार्डको गरिमा त बेग्लै हुन्छ । तर, हामीकहाँ हुने गरेका कुनै अवार्ड पनि बाहिर देखिएजस्तो, बुझिएजस्तो गरिमामय भने पक्कै छैनन् । कतिपयले अवार्ड किन्ने र कति आयोजकले बेच्नेसमेत गरेको पाइन्छ । अवार्ड पाएपछि रातारात स्टार हुन्छु, ‘डिमान्ड’ बढ्छ, पारिश्रमिक पनि राम्रै मिल्छ भन्ने सोच राख्नेलाई अन्तत: अवार्डले धोका नै दिने गरेको छ ।

‘यहाँका अवार्ड एउटै गतिला छैनन्,’ रेखा थापा भन्छिन्, ‘अवार्डले त कलाकर्मीको मनोबल उच्च पार्ने, हौसला दिने काम पो गर्नुपर्ने हो । तर, यहाँका अवार्डले निरुत्साहित मात्रै पार्छन् । त्यसैले मैले मेरो ब्यानरका फिल्मलाई कुनै पनि अवार्डमा सहभागी नगराउने निर्णय गरेकी हुँ ।’ रेखाले केही महिनाअघि अब आफ्नो ब्यानरबाट बन्ने कुनै फिल्म कुनै अवार्डमा सहभागी नगराउने घोषणै गरेकी छिन् । अर्का निर्माता माधव वाग्ले पनि फिल्म अवार्ड सबै व्यवसायमुखी भएको बताउँछन् । ‘सबै पैसा कमाउने धुनमा छन् । कुनै अवार्ड फेयर छैन,’ उनी भन्छन्, ‘मैले हिट–हिट फिल्म दिएको छु, दर्शकले माया दिएका छन्, त्यही नै हो अवार्ड । अरू सबै बकबास हो ।’

-नयाँ पत्रीका दैनिक बाट

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top