Breaking News
Loading...

पहिलो नेपाली चलचित्र र निर्देशक

-अबिनाश श्रेष्ठ,१३ मंसिर ।
नेपाली कथानक चलचित्रको आरम्भ र विकास सुरुदेखि नै भारतीय चलचित्रको प्रभावमा भएको कुरो अकाट्य यथार्थका रूपमा हामीसामु छ। सन् १९१३ मा दादा साहेब फालकेले निर्माण तथा निर्देशन गरेको ‘सत्य हरिश्चन्द्र’ (अवाक्) भारतीय उपमहाद्वीपको पहिलो चलचित्र मानिन्छ।
Abinash_shresthaसन् १९२० तिर बनेको प्रथम बंगाली चलचित्रको नाम ‘राजा हरिश्चन्द्र’ हो। यसलाई संयोग नै मान्नुपर्छ २००७ साल (सन् १९४९) तिर निर्माण गरिएको पहिलो नेपाली कथानक चलचित्र पनि ‘हरिश्चन्द्र’ नामबाटै बनेको छ। नेपाली भाषाको ‘हरिश्चन्द्र’को निर्माण २००७ साल असोज ७ गतेका दिन टालिगन्ज, कलकत्ता (भारत) मा शुभमुहूर्त गरी थालिन्छ भने निर्माण सम्पन्न गरी ‘हरिश्चन्द्र’को प्रथम प्रदर्शन पनि कलकत्ताको जनता सिनेमा हलमा २००८ भदौ ३० गतेका दिन सम्पन्न भएको हुन्छ।

त्यसपछि लामो समयसम्म नेपाली चलचित्र निर्माण हुन नसक्नुका दुई कारण हुन सक्छन्: पहिलो, ‘हरिश्चन्द्र’का निर्माताहरूले आर्थिक रूपमा घाटा बेहोर्नु; र दोस्रो, तिनताका चलचित्रका दक्ष नेपाली प्राविधिक, निर्देशक, कलाकार तथा सिनेमा हलहरूको अभाव। ‘हरिश्चन्द्र’ निर्माणको चौध वर्षपछि सरकारी व्यवस्थापनमा २०२१ सालमा नेपालभित्रै चलचित्र ‘आमा’ बनेर प्रदर्शन हुन्छ तपानि नेपाली चलचित्रलाई आफ्नो बलबुतामा दह्रो गरी उभिन र आत्मनिर्भर बन्न अझ दुईतीन दशक कठोर संघर्ष गर्नुपर्ने बाध्यता आइलाग्छ।

नेपाली चलचित्र क्षेत्रले निर्माण एवं प्रदर्शनका क्रममा बेहोर्नु परेको कठिन आत्मसंघर्षले गर्दा पनि ६६ वर्षअगाडि निर्माण गरिएको पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’को ऐतिहासिक महत्व बढेर गएको हो।Harishchandra_First_nepali filmybazarमैले भने नेपाली भाषामा ‘हरिश्चन्द्र’ नामक चलचित्र पनि बनेको रहेछ भन्ने सन् १९८३ मा मात्र थाहा पाएको हुँ। नेपाली भाषामा बनेका चलचित्र जेजस्ता भए पनि हुरुक्कै भएर हेर्ने मैले-त्यसअघि ‘आमा’, ‘माइतीघर’, ‘हिजो आज भोलिु, ‘परिवर्तनु, ‘मनको बाँधु, ‘कर्मको फल’ (तेलगुबाट नेपालीमा डब), ‘सिन्दूर’, ‘परालको आगो’, ‘बाँसुरी’ आदि हेरिसकेको हुन्छु।

नेपाली भाषामा पहिलो चलचित्र ‘हरिश्चन्द्र’ निर्माण तथा निर्देशन गरेबापत सन् १९८३ (विसं २०४०)मा ‘पश्चिम बंगाल नेपाली अकादेमी’, दार्जिलिङले डीबी परियारलाई पुरस्कृत गर्दछ। तिनताक भारतीय नेपालीमाझ प्रतिष्ठाको प्रतीक मानिने ‘नेपाली अकादेमी पुरस्कारु प्राप्त गरेपछि डीबी परियारको नाम र उनले गरेको काम चर्चाको चुचुरोमा पुग्छ। मैले पनि चलचित्र ‘हरिश्चन्द्र’ र डीबी परियारको नाम पहिलोपटक त्यति बेलै सुनेको हुँ।

प्रथम नेपाली चलचित्रको नाम कसैले ‘सत्य हरिश्चन्द्र’ त कसैले ‘राजा हरिश्चन्द्रु भनी बारम्बार उल्लेख गर्दै आएको पाइए पनि वास्तवमा चलचित्रको नाम ‘हरिश्चन्द्र’ मात्र हो भन्ने पुष्टि पोस्टरले गर्छ। त्यस्तै तेस्रो कुरा हल्लैहल्लाको भरमा डीबी परियारलाई ‘हरिश्चन्द्र’को निर्देशक हुन् भन्ने गरिएको अयथार्थको खण्डन पनि यस पोस्टरले गर्छ । पोस्टरमा प्रस्टसँग निर्देशकको नाम ‘सङ्घ रथी’ भनी लेखिएको पढ्न सकिन्छ।

‘हरिश्चन्द्र’को सुटिङ सन् १९४९ देखि १९५० सम्म कलकत्ता र यसको छेउछाउका अञ्चलहरूमा भएको थाहा पाइएको छ। यसका मुख्य कलाकारहरू-प्रेम नजिर, कान्ता, शीलादेवी, बलबहादुर परियार, दिलुसिंह क्षेत्री, डीबी परियार, तीलकशंकर, सागरदत्त कोइराला, रोजमेरी आदि थिए। यस ऐतिहासिक महत्व बोकेको चलचित्रमा हरिश्चन्द्रको भूमिका निर्वाह गर्ने नायक कलाकार मुसलमान धर्मावलम्बी व्यक्ति नजिरु थिए।

पछि उनको नामको अगाडि प्रेमु थपेर प्रेम नजिर बनाइएको थियो। अर्को रमाइलो कुरा के भने ‘हरिश्चन्द्र’की नायिका अर्थात् तारमतीको भूमिका गर्ने अभिनेत्रीको वास्तविक नाम कान्ता नभई ‘पासाङ ल्हामू थियो र उनी तिब्बती मूलकी बौद्धमार्गी भएको थाहा लाग्छ। ‘हरिश्चन्द्र’की अर्की नायिका शीलादेवीले चलचित्रमा अप्सरा मेनकाको भूमिका निर्वाह गरेकी छन् भने बलबहादुर परियार (स्यान्डो) ऋषि विश्वामित्र बनेका छन्।

दिलुसिंह क्षेत्री र डीबी परियार ऋषि विश्वामित्रका दुई चेलाको भूमिकामा छन्, अनि बालकलाकार तिलक शंकर रोहितको भूमिकामा। ‘हरिश्चन्द्र’मा चारवटा गीत र नृत्यहरू पनि राखिएको छ। चलचित्रको संवादमा हिन्दी, उर्दु र बंगाली भाषाका प्रशस्त शब्दहरू मिसिएकाले सुन्दा दाँतमा ढुंगा लागेझैं हुन्छ। चलचित्रको क्रेडिट कास्टिङमा गीतकार र संवाद लेखक भनी डीबी परियारको नाम दिइएको पाइन्छ।

डी.बी. परियार अर्थात् देवबहादुर परियार। कलकत्ता पुगेपछि डीबी-देवबहादुरबाट देवव्रत बने भन्नेहरू पनि छन् । मलाई भने उनको नामभन्दा पनि कामले आकर्षित गरेको हो। नेपाली भाषाको पहिलो चलचित्र निर्माण र निर्देशन गर्ने व्यक्ति मेरा लागि कुनै नायकभन्दा कम थिएनन्।

मेरो मनमा डीबी परियारप्रति अपार सम्मानभाव अनि उनीबारे धेरैभन्दा धेरै जान्ने जिज्ञासा जागेको हुन्छ तिनताका। सन् १९८३ पछि म जतिपटक सिलिगडी, दार्जिलिङ वा कालिम्पोङ गएँ सम्बन्धित व्यक्तिहरूसित उनीबारे जान्न खोजेकै हुन्थेँ। तर मैले भेट्ने गरेका धेरैलाई डीबी परियारबारे विस्तृत जानकारी नभएको पाउँथे। म खिन्न हुन्थेँ नेपालीहरू आफ्नो समुदायमा विशिष्ट योगदान पुर्‍यानेहरूप्रति उतिसाह्रो चासो वा सरोकार राख्दैनन् भन्ने थाहा पाउँदा।

यस्तैमा एक दिन कालिम्पोङका वरिष्ठ साहित्यकार दाजु नरबहादुर दाहालसँग गुवाहाटीमा भेट हुँदा डीबी परियारबारे सोध्छु। दाहाल दाजुबाट उनीबारे केही कुरा थाहा पाउँछु । डीबी परियार कालिम्पोङका बासिन्दा हुन् र हाल उनी कलकत्तामा बस्छन्।

सुरु सुरुतिर उनी सामाजिक, राजनीतिक कामहरूमा गहिरो अभिरुचि राख्थे र कथा-कविता पनि लेख्ने गर्थे । दाहाल दाजुबाट उनी कथा–कविता लेख्थे भन्ने थाहा पाएपछि म दार्जिलिङबाट प्रकाशित भएका पुराना पत्रपत्रिकाहरूमा उनलाई खोज्न थाल्छु।

खोज्दै जाँदा एक दिन सुप्रसिद्ध आख्यानकार रूपनारायण सिंहद्वारा सम्पादित ‘खोजी’ पत्रिकाको पूर्णांक: ७ (सन् १९४१) मा डीबी परियारको बाबु साहबको बोतलु शीर्षक कथा फेला पर्छ। नेपाली कथा साहित्यमा भरखरै-भरखरै आधुनिकताको पदचाप सुनिन थालेको प्रभाती बेलामा कथा लेखर प्रकाशित गराउने डीबी परियारप्रति मेरो मनमा सम्मानभाव अझ बढेर जान्छ।

डीबी परियार दाजु हरिश्चन्द्रका निर्माता निर्देशक होइनन् भन्ने कुरा पोस्टरबाटै छर्लंग हुन्छ। सत्य लुकाएर कति दिनसम्म लुक्छ र ! डीबी दाजुले संवाद र गीतचाहिँ लेखेका हुन्; तर हरिश्चन्द्र निर्देशकबिनाको चलचित्र हो-यसमा कुनै शंका लिनु पर्दैन।’

चलचित्र ‘हरिश्चन्द्र’को लम्बाइ १३ रिल छ र हाल उपलब्ध १६ एमएमको श्वेतश्याम प्रिन्ट हेर्दा लगभग एक घन्टा ४५ मिनेटको समय खर्च गर्नुपर्ने हुन्छ। यसको पहिलो दृश्य कलकत्ताको कुनै राजप्रासाद (प्यालेस)बाट सुरु भएको भान हुन्छ भने राजप्रासादका विभिन्न भाग, खोपी, करिडोर आदिको सेट लगाइएको हो कि झैं लाग्छ । त्यस्तै भेषभूषा, आभूषण, कलाकारको सिँगारपटार हेर्दा त्यस बेलाको स्थितिमा ‘हरिश्चन्द्र’को निर्माणमा पैसा खर्च गरिएको देखिन्छ।

‘हरिश्चन्द्र’को निर्माण गर्दा कुल भारु एक लाख तीस हजार खर्च भएको थियो भन्ने निर्माण पक्षको भनाइ छ। धार्मिक चलचित्र भएको हुँदा प्राचीन राजप्रासादको सेट लगाउन, भेषभूषा, सिँगारपटारको खर्च, अन्य प्रप्स (धनुषवाण, तरबार, खडाउ, जटाजुट, दाह्री-कपालको विग, आभूषण वा गरगहना इत्यादि) मा हुने खर्चहरूले गर्दा बजेट बढेको अड्कल काट्न सकिन्छ।

नेपाली चलचित्र क्षेत्रका एकथरी वरिष्ठ व्यक्तिहरूका अनुसार तत्कालीन युवराज श्री ५ महेन्द्रविक्रम शाहले पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’ निर्माण गर्न भारु ५१ हजार रुपैयाँ सहयोग गरेका थिए तर यस कुराको पुष्टि कतैबाट हालसम्म भएको छैन। तत्कालीन ‘शाही नेपाली चलचित्र संस्थान’का निर्देशक प्रदीप रिमालले विसं २०४६ सालमा यस पंक्तिकारलाई ‘हरिश्चन्द्रको एउटा प्रिन्ट नारायणहिटी दरबारमा रहेको र त्यसलाई संस्थानको अर्काइभमा फर्काउन पहल भइरहेकोु जानकारी दिएका थिए।

‘हरिश्चन्द्र’को त्यो प्रिन्ट अहिले कहाँ, कुन सरकारी निकायमा, कुन अवस्थामा छ ? थाहा पाउन सकिएको छैन। केही वर्षअघि ‘नेपाल चलचित्र विकास बोर्ड’का तत्कालीन अध्यक्ष अमर गिरीलाई नेपाली चलचित्र निर्माणको ऐतिहासिक दस्तावेज भएकाले हरिश्चन्द्रको एउटा प्रिन्ट कसैलाई कलकत्ता पठाएर भए पनि खरिद गर्नुपर्नेतर्फु यस पंक्तिकारले ध्यानाकर्षण गराएको थियो। यस कुरोमा गिरिजी सकारात्मक हुनुहुन्थ्यो। तर उहाँको कार्यकालमा त्यो सम्भव हुन सकेन।

विसं २०४६ मा म तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा ‘समकालीन साहित्य’, ‘कविता’, ‘प्रज्ञा’ आदि पत्रिकाको कार्यकारी सम्पादकमा नियुक्त भएँ। प्रख्यात संगीतकार दाजु अम्बर गुरुङ तिनताक प्रज्ञाप्रतिष्ठानमा संगीत विभागको प्रमुख हुनुहुन्थ्यो। उहाँको र मेरो कार्यकक्ष छेउछाउमा भएकाले भेटघाट भइरहन्थ्यो। एक दिन कुरैकुरामा मैले अम्बर दाइसित डीबी परियारबारे जिज्ञासा राखेँ।

उहाँले भन्नुभयो, ‘भाइ, डीबी परियारका आफ्नै भाइ मंगलदेव परियार यहीँ एकेडेमीमा सर्टह्यान्ड टाइपिस्ट हुनुहुन्छ। यसबारे मसित भन्दा मंगलदेवसित कुरा गर्दा तपाईंले धेरै जानकारी पाउन सक्नुहुनेछ।’ मंगलदेवजीसित मेरो राम्रै चिनजान थियो । तर उहाँ डीबी परिवारको सहोदर भाइ हुनुहुन्छ भन्ने थाहा थिएन।

अम्बर दाइलाई यस सूचनाका निम्ति सहर्ष धन्यवाद दिँदै मैले मंगलदेवजीलाई आफ्नो कार्यकक्षमा डाकी पठाएँ । उहाँ एकैछिनमा आइपुग्नुभयो। त्यस दिन मंगलदेवजीबाट पाएका सूचनाहरूबाट मलाई ठूलै गुप्त खजाना हात पारेजत्तिकै अनमोल आनन्द प्राप्त भएको थियो।

मंगलदेवबाट पाएको जानकारीअनुसार डीबी परियार– धनबहादुर र मनमाया परियारका चार भाइ छोरा र एक छोरीमा माइलो सन्तानका रूपमा १ मे १९२३ मा कालिम्पोङमा जन्मनुभएको थियो। उहाँले प्रारम्भिक शिक्षा कालिम्पोङमा र उच्चशिक्षा कलकत्तामा हासिल गर्नुभयो।

राजनीतिमा अगाध रुचि राख्ने डीबी परियार भारतको स्वाधीनता संग्राममा त सक्रिय हुनुहुन्थ्यो नै, २००७ सालको राणाविरोधी सशस्त्र क्रान्तिमा पनि उहाँ होमिनुभएको थियो । एकताक नेताजी सुभाषचन्द्र बोसको सान्निध्यमा रहेर पनि उहाँले सेवाकार्य गर्नुभयो।

उहाँले कथा, कविता र धेरै नाट्यकृतिहरू नेपाली भाषामा लेख्नुभयो । तीमध्ये वीर खड्गबहादुर सिंह विष्टु शीर्षकको नाटक धेरै ठाउँमा पटकपटक मञ्चन भइसकेको छ । मंगलदेवजीबाट यति धेरै जानकारी र उहाँको कलकत्ता निवासको ठेगानासमेत प्राप्त भएपछि उहाँसित भेटेर उहाँबारे लामै लेख लेखी उहाँको योगदानलाई नेपाली संसारसमक्ष राख्ने सदिच्छा ममा जागेको थियो।

नेपाली भाषाको पहिलो चलचित्र ‘हरिश्चन्द्र’ निर्माण तथा निर्देशन गर्ने डीबी परियारलाई मैले ठूलोभन्दा ठूलो मानसम्मानको हकदार ठहर्‍याएको थिएँ र उनीप्रतिको सम्मानभाव अब विस्तारै श्रद्धाभावमा फेरिँदै जाँदो थियो।

केहीले अझै पनि हरिश्चन्द्र नामक नेपाली चलचित्र बनेकै थियो त?’ भनी प्रश्न गर्ने गर्छन् । उनीहरूलाई ‘हरिश्चन्द्र’ निर्माण भएको पत्यारै छैन । अर्काथरी ‘हरिश्चन्द्र’लाई डब चलचित्र मान्नेहरू पनि छन् । तर वास्तविकता के हो भने ‘हरिश्चन्द्र’ निर्माण भएकै थियो; यो किंवदन्ती नभई ठोस यथार्थ हो।

यो डब नभई नेपाली भाषामा निर्मित मौलिक चलचित्र नै थियो भन्ने त यसमा भूमिका निर्वाह गर्ने नेपाली कलाकारहरूको उपस्थितिबाटै सिद्ध हुन्छ । चलचित्र ‘हरिश्चन्द्र’ त्यो जमानामा १११ (एक सय एघार) वटा सेन्टरमा प्रदर्शन भएको थियो।

दार्जिलिङको क्यापिटल सिनेमा हलमा ‘हरिश्चन्द्र’ चारपाँच हप्तासम्म ‘हाउसफुलु का साथ चलेको थियो भन्ने पढ्न पाइन्छ । दार्जिलिङको कमानबस्तीबाट नेपाली भाषामा बोल्ने सिनेमा हेर्न क्यापिटल सिनेमा हलमा मानिसहरूको मेला लाग्थ्यो।

रमाइलो कुरो त के भने क्यापिटल सिनेमा हलको नजिकै रहेको दार्जिलिङको ‘गोर्खा दुःख-निवारक सम्मेलन भवन’मा तिनैताक नाटक ‘राजा हरिश्चन्द्र’को मञ्चन जारी थियो । दार्जिलिङमा सन् १९१६ मै धनवीर मुखियाले लेखेको नाटक ‘राजा हरिश्चन्द्र’ सफलतासाथ मञ्चन भएको इतिहास छ।

दर्शकले अत्यधिक मन पराएर इतिहास रचेको यही ‘राजा हरिश्चन्द्र’ नाटकलाई सन् १९४२ मा भैया सिंहले पुनर्लेखन गरी दार्जिलिङमा सफलतापूर्वक चलाएको यथार्थ डीबी परियारकै अगाडि घटित भएको घटना थियो। पहिलो नेपाली चलचित्र बनाइँदा हरिश्चन्द्रको कथा रोजिनुमा यस पृष्ठभूमिले काम गरेको बुझ्न सकिन्छ।

२०४७ सालको बडा दसैं र तिहार सकिएपछि कुनै एक दिन दार्जिलिङका चर्चित साहित्यकार डा. जगत् छेत्री प्रज्ञाप्रतिष्ठानको मेरो कार्यकक्षमा आउनुहुन्छ। कुरैकुरामा डीबी परियारको नाटक ‘वीर खड्गबहादुरसिंह विष्ट’ उहाँकै अग्रसरतामा छिट्टै प्रकाशित हुँदैछ भन्ने थाहा पाउँछु। उपर्युक्त नाटकबाहेक पनि डीबी परियारले लेखेका अरू केही नाटक र नाट्यशास्त्रसम्बन्धी ग्रन्थका साथै अंग्रेजीमा नेपाली जाति र जातीयताबारे पुस्तकाकार पाण्डुलिपिहरू अप्रकाशित अवस्थामा छन्, भन्ने जानकारी डा. छेत्रीले मलाई गराउनुहुन्छ।

डीबी परियारको लेखन र निर्देशनमा सन् १९६२/६३ ताक निर्माण थालिएर पूरा हुन नसकेको अर्को चलचित्र ‘हिमालकी रानी’बारे पनि डा. जगत छेत्रीले त्यसै भेटघाटमा मलाई अवगत गराउनुभएको सम्झन्छु। ‘हिमालकी रानी’मा कर्म योञ्जन र गोपाल योञ्जन संगीतकारका रूपमा तथा ज्ञानेश्वर गिरी गीतकारका रूपमा अनुबन्धित रहेको, दार्जिलिङका केही स्थानीय मारवाडीहरू यसका निर्माता रहेको र केही दिन दार्जिलिङ वरपर सुटिङ गरेपछि यस चलचित्रको काम बीचैमा रोकिन पुगेको थियो भन्ने थप नयाँ सूचना पनि पछि मलाई उपलब्ध हुन्छ।

पहिलो नेपाली कथानक चलचित्र ‘हरिश्चन्द्र’ पौराणिक/धार्मिक परिवेशको कथामा आधारित भए पनि यसमा ट्रिक फोटोग्राफी, स्पेसल इफेक्ट्स वा म्याजिक सट्को प्रयोग गरिएको पाइँदैन। पौराणिक परिवेशको यस चलचित्रमा रोहितलाई मसानघाटमा पोल्न लगिएको दृश्यको पृष्ठभूमिमा एउटा रेल गाडी गुडिरहेको देखिनुले यसलाई हास्यास्पद पनि बनाएको छ।

‘हरिश्चन्द्र’चलचित्रमा देखिएको यो ठूलो र अक्षम्य गल्ती हो। यो दृश्य सम्पादन गर्दा काटेर मिल्काउन सकिन्थ्यो तर त्यसो नगरेर पौराणिक परिवेशको चलचित्रलाई अविश्वसनीय र हाँसउठ्दो बनाइनुका पछि निर्माता/निर्देशकका के बाध्यताहरू थिए ? के रेलगाडी पृष्ठभूमिमा कुदेको देखिने त्यो दृश्य एउटै सटुमात्र छायांकन गरिएको थियो ?

त्यस समयमा भारु एक लाख ३० हजारजस्तो ठूलो रकम खर्च गरेर बनाइएको भनिएको चलचित्रमा थोरै रकमको नेगेटिभ फुटेज जोगाउने लोभमा त यस्तो हर्कत पक्कै नगरिएको हुनुपर्ने। जे होस्-पौराणिक परिवेशको चलचित्र ‘हरिश्चन्द्र’मा रेल गुडेको दृश्य देखिनु अक्षम्य त्रुटिका रूपमा सधैं औंल्याइने कलंक बनेर रहेको छ।

यस प्रसंगमा डीबी परियारले स्पष्टीकरण दिँदै ‘त्यस दिन क्यामेराम्यान सुरेश दास रक्सी खाएर मातेको अवस्थामा थिए, त्यसैले दृश्य छायांकन गर्दा पछाडिबाट रेल गुडिरहेको उनले थाहा नै पाएनछन्’ भनेका छन्। यो स्पष्टीकरणले अर्को प्रश्न जन्माएको छ, ‘के उसो भए हरिश्चन्द्र क्यामेराम्यानको भरमा छोडिएको कुनै एकजना निर्दिष्ट निर्देशकको जिम्मेवारी नतोकिएको वा निर्देशकबिनाको चलचित्र त थिएन कतै? ‘

माथि गरिएको प्रश्नबाहेक ‘हरिश्चन्द्र’को निर्माण र आर्थिक पक्षसँग जोडिएका केही जिज्ञासा थिए मभित्र। यी प्रश्न र मेरा निजी जिज्ञासाहरूको उत्तर डीबी परियारसित भेटघाट गरी कुराकानी गर्दामात्र म पाउन सक्थेँ। तर बिनाकुनै उद्देश्य वा व्यर्थमा यस्ता प्रश्न वा जिज्ञासा कसैसँग राखिनुको औचित्य म देख्दिँनथेँ।

तर विसं २०४८ लाग्दानलाग्दै नेपाली चलचित्र क्षेत्रका दिग्गज केही कलाकार मित्रहरू कृष्ण मल्ल, पुरन जोशी, शिव श्रेष्ठ, शर्मिला मल्ल, मौसमी मल्ल, प्रकाश अधिकारी आदिका साथै वरिष्ठ चलचित्र निर्माता विष्णुगोपाल श्रेष्ठ, मोहन सर्राफ आदिको विशेष रोजाइमा म परेकाले एउटा मिसनका रूपमा सिने कलाकार तथा निर्माताहरूले प्रकाशन गर्न लाग्नुभएको चलचित्रप्रधान पत्रिका श्री-सिने मासिक’को प्रधान सम्पादक (सम्पादन निर्देशक) को अभिभारा मेरो काँधमा मैले बोक्नुपर्ने भयो।

‘श्री-सिने मासिक’ नेपाली चलचित्र कलाकार र निर्माताहरूको संयुक्त लगानीमा प्रकाशित हुने पहिलो पत्रिका भएकाले यससित जोडिएका संयुक्त आकांक्षा र सपनाहरू पनि ठूल्ठूला हुने नै भए; जसलाई आफ्नो सिर्जनात्मक बलबुतामा मैले पूरा गर्नु थियो। यसका निम्ति मसित बलियो टिम हुनु जरुरी थियो र मैले आफ्नो टिममा कार्यकारी सम्पादकमा पदम छेत्री, स्तम्भकारहरूमा लक्ष्मीनाथ शर्मा, दिनेश अधिकारी, रमण घिमिरे, प्रकाश सायमि, शरद प्रधान, लोकेन्द्र शाह, धीरेन्द्र प्रेमर्षि, रविन नेपाली आदि; फोटोग्राफरमा श्याम चित्रकार, राजीव श्रेष्ठ, मीन वज्राचार्यहरूको साथ र सहयोग मैले पाएको थिएँ।

‘श्री सिने मासिक’को सुरुआती योजना बनाउँदै गर्दा नै मैले पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’ र डीबी परियारबारे एउटा सशक्त आलेख राख्ने निधो गरी काम अगाडि बढाएँ। अब मसित डीबी परियारसित आफ्ना प्रश्न र जिज्ञासाहरू राख्ने बलियो उद्देश्य, औचित्य र आधार’ ‘श्री-सिने मासिक’का रूपमा थियो।

आफ्ना साथै पाठक-दर्शकका जिज्ञासाहरूसमेत सम्बोधन हुने गरी दर्जनौं प्रश्न तयार पारेर’ श्री-सिने मासिक’का तर्फबाट डीबी परियारको कलकत्ता, टालिगन्जको ठेगानामा रजिस्ट्री–पत्र पठाएको सम्झन्छु– जसमा उनका भाइ मंगलदेव परियारको समेत सहयोग थियो। तर दुई महिना बितिसक्दा पनि डीबी परियारबाट कुनै प्रतिउत्तर आएन।

यसबीच ‘श्री-सिने मासिक’को पहिलो अंक बजारमा आइसकेको थियो र चलचित्रकर्मीहरू तथा सर्वसाधारण पाठकहरूबाट अत्यन्त सकारात्मक एवं उत्साहजनक प्रतिक्रिया पाएर म हैसिएको थिएँ। त्यसैले ठूलो खाममा ‘श्री-सिने मासिक’को पहिलो अंक र प्रश्नहरू राखेर पुनः रजिस्ट्री पोस्टमार्फत डीबी परियारलाई पठाउन लगाएको थिएँ। तर ‘श्री-सिने मासिक’को दोस्रो र तेस्रो अंक बजारमा आइपुग्दासमेत उनीबाट कुनै पत्र-प्रतिक्रिया नपाउँदा भने हामी केही निराश भयौं।

तर हामीले प्रयास भने छाडेनौं। ‘श्री-सिने मासिक’ अंक दुई र तीनका साथ प्रश्नहरू राखेर विशेष आग्रहको चिठीसमेत समावेश गरी डीबी परियारज्यूलाई तेस्रो रजिस्ट्री पत्र पठाएर हामी आशावादी बन्दै प्रतिउत्तर पाउने आशमा कुरिरहेका थियौं। तर उनीबाट कुनै किसिमको प्रतिक्रिया नपाएपछि चलचित्र ‘हरिश्चन्द्र’बारे विशेष सामग्री प्रकाशन गर्ने हाम्रो उत्साहमाथि तुषारापात हुँदै जाँदो थियो।

यस्तैमा एक दिन पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’ र त्यसका निर्देशकबारे आश्चर्यचकित पार्ने निकै ठूलो खुलासा (स्कुप) बोकेर ‘श्री-सिने मासिक’को कार्यालय पुतलीसडकमा दार्जिलिङका कवि/पत्रकार मित्र जीवन लाबर उपस्थित भएका थिए।

चलचित्र ‘हरिश्चन्द्र’ उनको दानी स्वभावको चित्रणबाट थालिएको छ र अन्तमा सबैको मेलमिलाप भएको सुखान्त दृश्यमा गई टुंगिएको छ। ‘हरिश्चन्द्र’मा अभिनय गर्ने कलाकारहरूको अभिनयलाई औसत भन्न सकिन्छ। तर पहिलो नेपाली चलचित्र भएकाले कलाकारहरूको ऐतिहासिक महत्वलाई भने नकार्न मिल्दैन । नेपाली चलचित्र जगत्कै पहिली नायिका हुन् ‘हरिश्चन्द्र’की नायिका कान्ता उर्फ पासाङ ल्हामू।

यिनको जन्म कालिम्पोङमा भएको हो । हाल यिनी भारत मध्यप्रदेशको राजधानी भोपालमा श्रीमान् र परिवारसहित बसोबास गर्छिन्। कला र संगीत क्षेत्रमा रुचि राख्ने कान्ताको शास्त्रीय गायन आकाशवाणी, भोपालबाट एकताका प्रसारित हुने गर्थ्‍यो। ‘हरिश्चन्द्र’की दोस्री नायिका शीलादेवी हाल आफ्ना श्रीमान् ठाकुरप्रसाद चौरसिया र दुई छोरीसँग कोलकातामै बस्छिन्। यिनका दुवै छोरी डाक्टर छन्।

शीलादेवीको एउटा घर दार्जिलिङमा पनि छ र बेलाबेला उनी दार्जिलिङ आउनेजाने गरिरहन्छिन् । उनी विभिन्न संघसंस्थासित पनि आबद्ध छिन् । शीलादेवी र उनका श्रीमान् ठाकुरप्रसाद चौरसियाबारे थप केही कुरा प्रसंगअनुसार तल फेरि भनिने छ।

‘हरिश्चन्द्र’मा ऋषि विश्वामित्रका दुई चेलामध्ये एकको भूमिका निर्वाह गर्ने दिलुसिंह क्षेत्री केही वर्ष अघिसम्म सेन्ट रोबर्टस् स्कुल, दार्जिलिङमा शिक्षक थिए । सेन्ट रोबर्टस् स्कुल र गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङका लागि उनले थुप्रै नाटक लेखन र मञ्चन गरेको थाहा लाग्छ– जसमध्ये नाटक ‘वीर बलभद्र’ निकै चर्चित हुन पुगेको थियो।

त्यस्तै चलचित्र ‘हरिश्चन्द्र’का विश्वामित्र ऋषि अर्थात् बलबहादुर परियार (स्यान्डो) दार्जिलिङमै बसोबास गर्थे । उनी अभिनेतामात्र नभएर आफ्नो समयका प्रख्यात बडी बिल्डर पनि थिए । नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले बलबहादुर परियारलाई ‘नेपाली स्यान्डो’ उपनाम दिएर सम्मानित गरेका थिए भने पश्चिम बंगालका तत्कालीन राज्यपाल कैलाशनाथ काट्जूले उनलाई हिमालयन बियरु उपाधिद्वारा विभूषित गरेका थिए।

नेपालका तत्कालीन राजा श्री ५ त्रिभुवनले पनि बलबहादुर परियारको प्रदर्शन हेरेपछि कलकत्तामा उनलाई प्रशंसा गर्दै सम्मान र बक्सिस प्रदान गरेका थिए । स्यान्डोले भारतीय सर्कसहरूमा पनि काम गरे। त्यसबाहेक उनले नेपाली, हिन्दी र उर्दु भाषाका धेरै नाटकमा काम गरेका थिए । बलबहादुर परियार (स्यान्डो) एक जमानाकी नायिका कृष्टि केसीको नाताले आफू मामा पर्ने बताउँथे।

दार्जिलिङका मित्र जीवन लाबरले ‘हरिश्चन्द्र’ र त्यसका निर्देशकबारे जुन नौलो सूचना बोकेर आएका हुन्छन्, त्यसले मलाई आश्चर्यचकित तुल्याउँछ । लाबरजीको सूचना फोस्रो गफमात्र नभई तथ्य र प्रमाणमा आधारित हुन्छ। उनले आफूसँग ‘हरिश्चन्द्र’को पुरानो पोस्टर ल्याएका हुन्छन्।

बलबहादुर परियार स्यान्डोसित मागेर ल्याइएको त्यस पोस्टरबाट चलचित्र ‘हरिश्चन्द्र’बारे चलिआएका केही भ्रमको प्रस्टसँग निवारण हुन्छ साथै यसका निर्माता-निर्देशकबारेको रहस्यबाट पर्दा उठाएको पाउँछु। यस पोस्टरबाट चारवटा कुराको पुष्टि हुन्छ, पहिलो कुरा-चलचित्र हरिश्चन्द्र बनेकै थियो र यो नेपाली भाषामै बनेको थियो भन्ने प्रमाण यो पोस्टर आफैं हो।

अनि दोस्रो महत्वपूर्ण कुरो- प्रथम नेपाली चलचित्रको नाम कसैले ‘सत्य हरिश्चन्द्र’ त कसैले राजा हरिश्चन्द्रु भनी बारम्बार उल्लेख गर्दै आएको पाइए पनि वास्तवमा चलचित्रको नाम ‘हरिश्चन्द्र’मात्र हो भन्ने पुष्टि पोस्टरले गर्छ।

त्यस्तै तेस्रो कुरा हल्लैहल्लाको भारमा डीबी परियारलाई ‘हरिश्चन्द्र’को निर्देशक हुन् भन्ने गरिएको अयथार्थको खण्डन पनि यस पोस्टरले गर्छ । पोस्टरमा प्रस्टसँग निर्देशकको नाम ‘सङ्घ रथी’ भनी लेखिएको पढ्न सकिन्छ । र, चौथो कुरो चलचित्र ‘हरिश्चन्द्र’का निर्माता ठाकुरप्रसाद चौरसिया र एसपी मुखर्जीमात्र भएको खुलासा पोस्टरले गर्छ।

विभिन्न पत्रपत्रिका, इन्टरनेटमा राखिएका सामग्री वा कसैले बोल्दै हिँडेको भरमा अन्य व्यक्तिहरूलाई ‘हरिश्चन्द्र’का आधिकारिक निर्माता वा लगानीकर्ता मान्न नसकिने स्थिति पोस्टरले सिर्जना गरेको छ। पोस्टरको पुछारमा ‘अ बिहार नेसनल मुभिटोन रिलिज’ लेखिएकोबाट ‘हरिश्चन्द्र’को वितरण प्रदर्शन कसले गरेको रहेछ भन्ने पनि छर्लंग हुन्छ।

यस्तो विश्वसनीय तथ्य-प्रमाण हात पर्दासमेत हतारिएर ‘श्री सिने मासिक’को चौथो अंकमा ‘हरिश्चन्द्र’बारेको खुलासा प्रकाशित गर्न मभित्रको सम्पादकलाई उचित लाग्दैन । अझ केही समय लगाएर यसको थप पुष्टि गर्न मैले चाहेको हुन्छु। डीबी परियारलाई पठाइएका प्रश्नहरूको लिखित उत्तर आउनेमा पनि म त्यतिन्जेलसम्म आशावादी नै हुन्छु। यसैबीच कामविशेषले गान्तोक (सिक्किम) जानुपर्ने हुन्छ।

जान्छु। फर्कंदा दार्जिलिङ पस्छु र चलचित्र ‘हरिश्चन्द्र’बारेका सत्यतथ्य छानबिन गर्छु। जीवन लाबरजीले ल्याएको सूचना सही भएको थप पुष्टि हुन्छ। ‘श्री-सिने मासिक’ को अंक ६ मा चलचित्र ‘हरिश्चन्द्र’ र यसका निर्देशक को हुन् ? भन्ने खुलासा गरिएको लेख पोस्टरसहित विशेष रूपमा प्रकाशित गर्ने निर्णयमा म पुग्छु।

‘हरिश्चन्द्र’को पोस्टरमा जस्तै चलचित्र हेर्दा यसको नामावली विवरण (क्रेडिट कास्टिङ)मा समेत निर्देशकको नाम ‘सङ्घ रथी’ लेखिएको रहेछ ।

‘श्री-सिने मासिक’ अंक ६ मा राख्ने निधो गरिएको लेखमा ‘हरिश्चन्द्र’ का दुई मुख्य कलाकार बलबहादुर परियार (स्यान्डो) र शीलादेवीसित जीवन लाबरजीले भेटेर गरेको कुराकानीको अंश पनि समावेश गरिएको हुन्छ, जो यसप्रकार छ:

स्यान्डोसित ‘हरिश्चन्द्रको निर्देशन वास्तवमा कसले गरेको थियो त?’ भनी गरेको प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘डीबी परियार दाजु हरिश्चन्द्रका निर्माता निर्देशक होइनन् भन्ने कुरा पोस्टरबाटै छर्लंग हुन्छ। सत्य लुकाएर कति दिनसम्म लुक्छ र ! डीबी दाजुले संवाद र गीतचाहिँ लेखेका हुन्; तर हरिश्चन्द्र निर्देशकबिनाको चलचित्र हो-यसमा कुनै शंका लिनु पर्दैन।’

त्यस्तै केही दिनअघि (सन् १९९१) ‘हरिश्चन्द्र’ हेर्ने मौका उक्त चलचित्रका निर्माता टीपी चौरासियाको घर (कलकत्ता) मा पाएँ । ‘हरिश्चन्द्र’मा मेनकाको भूमिका निर्वाह गर्ने शीलादेवीलाई चौरासियाले दुलही बनाएको थाहा लाग्यो। शीलादेवीले कुराकानीका क्रममा भनिन्, ‘हाम्रो प्रयास चलचित्र बनाउनु थियो, सफल साथै असफल पनि भयौं । त्यस समयमा हामी कलाकारहरूले हरिश्चन्द्रमा सित्तैमा अभिनय गरेका थियौं।’ यसै क्रममा ‘चलचित्रले लगानी त उठायो होला नि ?’ भनी प्रश्न गर्दा चौरासियाले भने, ‘मलाई ठूलो धोका भयो।

‘हरिश्चन्द्र’को पोस्टरमा जस्तै चलचित्र हेर्दा यसको नामावली विवरण (क्रेडिट कास्टिङ)मा समेत निर्देशकको नाम ‘संघ रथी’ लेखिएको रहेछ। ‘हरिश्चन्द्रको निर्देशक को थिए त ?’ भनी शिलादेवीलाई सोध्दा उनीबाट अर्को रोचक जानकारी पाइयो: स्क्रिप्टको काममा सघाउने, गीत र संवाद लेख्ने काम डीबी परियारजीले गर्नुभएको हो, तर उहाँले हरिश्चन्द्र निर्देशन गर्नुभएको भन्ने मिल्दैन । बरु बेलाबेला एसपी मुखर्जीले हामीलाई क्यामरा अघिल्तिर कसरी संवाद बोल्ने, अभिनय कसरी गर्ने भन्ने सिकाउने गर्नुभएको चाहिँ सम्झन्छु।’

चलचित्र ‘हरिश्चन्द्र’बारेका केही आर्थिक प्रश्नबारे म अझै पनि अन्योलमै हुन्छु। ती प्रश्नहरू यसप्रकार हुन्छन्ः १. तत्कालीन नेपालका युवराज महेन्द्रले भारुएकाउन्न हजार चलचित्र ‘हरिश्चन्द्र’लाई सहयोग गरेका थिए त ? २. चलचित्रकी एकजना मुख्य कलाकार शीलादेवीले ‘हरिश्चन्द्रमा सबै कलाकारले सित्तैमा काम गरेको बताएकी छन्। के यो सत्य हो ?
३. ‘हरिश्चन्द्र’को पोस्टरमा खुलाइएअनुसार यस चलचित्रको सम्पूर्ण वितरण अधिकार ‘बिहार नेसनल मुभी टोनु नामक संस्थाको जिम्मामा भएको थाहा लाग्छ । तर ‘हरिश्चन्द्र’को प्रिन्ट बोकेर डीबी परियार काठमाडौं, कालिम्पोङ र असमका हलहरूमा आफैं पुगेको पढ्न÷जान्न पाइएको छ। ‘हरिश्चन्द्र’को काठमाडौं, कालिम्पोङ र असमको आम्दानी मूल निर्माता टीपी चौरासियाको हात पर्‍यो कि परेन?

४. जम्मा एक लाख तीस हजारमा बनेको चलचित्रले सात लाखभन्दा बढी कमाइ गर्दा पनिऔनिर्मातामध्ये एक टीपी चौरासियाले ुमलाई ठूलो धोका भयोु भन्नु (स्रोत-जीवन लाबरसँग वार्ता), अनि डीबी परियारले पनि सबै रकम चौरासियाका मान्छेले जर्मनीबाट क्यामरा झिकाउने भनेर लग्यो र उक्त रकम पछि फिर्ता भएनु (कामनाः वर्ष ५, अंक ५०) भन्नुका पछाडि के कति रहस्य थिए?
यी र यस्ता प्रश्नका सही र यथार्थ जवाफ जान्ने मसित कुनै उपाय थिएन। माघ २०४८ मा ‘श्रीऔसिने मासिकुको अंक ५ केही ढिलो गरी निस्किसकेको हुन्छ र म अर्को अंकको तयारीसँगै ‘हरिश्चन्द्र’को निर्देशकबारेको ठूलो रहस्योद्घाटनलाई महत्वका साथ प्रस्तुत गर्ने काममा जुट्छु। बितेका तीनचार महिना वास्तवमा मैले धरमरमा खेर फालेको हुन्छु।

धरमरको कारण हुन्छ-डीबी परियारप्रतिको ममा रहेको सम्मानभाव। तर पत्रकार र पत्रकारिताको पहिलो नियम वा पहिलो धर्म हो-सत्यलाई साथ, असत्यको तिरस्कार ! अन्ततः दोधारबाट, धरमरबाट आफूलाई मुक्त गर्दै मैले सत्यतथ्य अँगाल्ने निर्णय गर्छु।

डीबी परियारले पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’मा गीतकार, संवाद लेखक, अभिनेता अनि उत्प्रेरकका रूपमा खेलेको भूमिकाका निम्ति ममा उनीप्रति सम्मानभाव हुँदाहुँदै पनि उनले हरिश्चन्द्र निर्देशन भने गरेका थिएनन् भन्ने प्रमाण हातमा हुँदा असत्य अतथ्यको उद्घाटन गरिदिनु नै त्यति बेला मेरो परम कर्तव्य र धर्म हुन्छ। त्यसपछि ‘ श्री-सिने मासिक’को अंक ६ मा ‘हरिश्चन्द्रका निर्देशक को हुन्?’

शीर्षकको लेखलाई अग्रस्थान दिँदै राखेर माघ, २०४८ को अन्त्यतिर लाजिम्पाटस्थित शान्त मल्लको लिथोग्राफिक अफसेट प्रेसमा छाप्न पठाउने काम गर्छु। तर अफसोसको कुरा के भने यसैबीच कुुनै आन्तरिक कारणवश चलचित्र कलाकार र निर्माताहरूले मिसनका रूपमा धूमधामसँग प्रकाशित गर्न थालेको ‘ श्री-सिने मासिक’ त्यति नै अप्रत्याशित रूपमा बन्द गर्ने निर्णय गरिन्छ।

लिथोग्राफिक छापाखानाबाट ‘श्री-सिने मासिक’को अंक ६ प्रकाशित भएर कहिल्यै बाहिर आउँदैन र पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’का निर्देशकबारे गरिनुपर्ने ठूलो खुलासा पनि त्यत्तिकै दबेर जान्छ। केही वर्षपछि चलचित्र पत्रिका ‘उपमा’ र ‘मनोकामना’मा यसबारे सामग्री प्रकाशित गराउँछु।

तर ती सामग्रीमा प्रबुद्ध सिनेकर्मी, पाठक र अध्ययताहरूको आँखा नपरेको अनुभव मलाई भएकाले अहिले फेरि बृहत् रूपमा पाठकद्वारा पढिने ‘अन्नपूर्ण पोस्ट्’का दीपक सापकोटा भाइले अनुरोध गरेकाले यस ऐतिहासिक महत्व आफैंमा बोकेको मुद्दालाई जनसमक्ष राख्न चाहेको हुँ-कुन विश्वासका साथ भने अब यस तथ्य-प्रमाणका आधारमा पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’का निर्देशकबारेको भ्रम सधैंका लागि मेटिएर जानेछ र गलत रूपमा लिपिबद्ध भएका अभिलेखहरू यस तथ्यको आलोकमा सच्याइनेछन् ।…

माथिको चर्चा र उपलब्ध प्रमाणका आधारमा के निक्र्योल निस्कन्छ भने ‘हरिश्चन्द्र’का निर्देशक डीबी परियार होइनन् । उपलब्ध पोस्टर र चलचित्र ‘हरिश्चन्द्र’को क्रेडिट कास्टिङमा निर्देशकको नाम ‘सङ्घ रथी’ लेखिएको पाइन्छ। तर ‘सङ्घ रथी नाम गरेको कुनै व्यक्तिको अस्तित्वबारे थाहा लाग्दैन।

‘हरिश्चन्द्र’का सबै काम संयुक्त प्रयासमा अगाडि बढेको हुनाले निर्देशकको नाम राख्दा ‘सङ्घ रथी’ शब्द प्रयोग गरिएको हो भन्ने निष्कर्षमा पुग्न कर लाग्छ। ‘सङ्घ रथी’को शाब्दिक अर्थ पनि ‘सङ्घुको अर्थ ‘समूहु र ‘रथी’को अर्थ ‘हाँक्नेु भन्ने लाग्छ; अर्थात् समूहद्वारा हाँकिएको वा सबैको सम्मिलित प्रयासद्वारा बनेको हुँदा निर्देशकको नाम ‘सङ्घ रथी’ राखिएको प्रस्ट हुन्छ।

हुन पनि पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’ निर्माण हुनु-दुई अनेपाली निर्माता ठाकुरप्रसाद चौरसिया र एसपी मुखर्जी, अनेपाली छायाकार सुरेश दास, थुप्रै अनेपाली चलचित्र प्राविधिकहरू, अनेपाली नायक तथा केही नेपाली कलाकारको सामूहिक प्रयासकै परिणाम थियो।

अन्तमा एउटा नैतिक प्रश्न डीबी परियारका लागि: आफू  ‘हरिश्चन्द्र’को निर्देशक होइन भन्ने थाहा हुँदाहुँदै सन् १९८३ मा पहिलो नेलाली चलचित्र ‘हरिश्चन्द्र’निर्माण तथा निर्देशन गरेबापत पश्चिम बंगाल नेपाली अकादेमी, दार्जिलिङले प्रदान गरेको भारु पचास हजार र सम्मानपत्रसहितको पुरस्कार डीबी परियारले ग्रहण गर्नुहुन्थ्यो कि हुँदैनथ्यो ?

अनि ‘पश्चिम बंगाल नेपाली अकादेमी, दार्जिलिङ’जस्तो राज्य सञ्चालित संस्थाले उचित छानबिन नगरी हल्ला र हचुवाका भरमा पुरस्कार वितरण गर्नुलाई के भन्ने? ‘नेपाल अकादेमी, दार्जिलङ’को एउटा गलत निर्णयले गर्दा पनि पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’का निर्देशकबारेको भ्रम आजसम्म सर्वत्र कायम छ । अब भने यो भ्रम र भ्रान्तिको निवारण हुन जरुरी छ।

..अब अन्त्यमा यो पनि

‘श्री-सिने मासिक’ बन्द भएको पनि केही महिना बितिसकेको हुन्छ।त्यस्तैमा एक दिन मंगलदेव परियारजी वयस्क तर होचो पुड्को कदको एकजना मानिसलाई लिएर प्रज्ञाप्रतिष्ठानको मेरो कार्यकक्षमा आउँछन् ।उहाँ मेरो दाजु डीबी परियार।’

डीबी परियारको त्यो अकस्मात्को आगमन मेरोनिम्ति नितान्त अप्रत्याशित अनि अकल्पनीय हुन्छ । आफूले लामो समयदेखि भेट्न चाहेको व्यक्ति आफूसामु पाउँदा केही रोमञ्चित, केही अचम्भितसमेत बनेको हुन्छु।मंगलदेवजी उनलाई मकहाँ पुर्‍याइराखेर काममा फर्किसकेका हुन्छन्।

केही बेर हामीमाझ भलाकुसारी चल्छ। हामीले यताबाट पठाएका ‘श्री-सिने मासिक’का प्रतिहरू र प्रश्न आफूले समयमै पाएको तर बेफुर्सदी भएकाले नभ्याएर उत्तर लेखी पठाउन नसकेको स्पष्टीकरण दिँदै डीबी परियार ‘श्री’जस्तो गहकिलो सिने पत्रिका बन्द भएकोमा अफसोस पनि जताउँछन्।

केही बेरपछि कुराकानीले चलचित्र ‘हरिश्चन्द्रुको निर्माण प्रसंगमा प्रवेश गर्छ। कलकत्ताको इस्टर्न टकिज स्टुडियोमा चलचित्र ‘हरिश्चन्द्र’को सुटिङ दिनरात चलेको जानकारी उनी मलाई गराउँछन्। यसै प्रसंगमा २००८ साल असार महिनातिर ‘हरिश्चन्द्र’को काम अन्तिम चरणमा पुगेका बेला महान् नाटककार बालकृष्ण सम-श्रीमती मन्दाकिनी सम र छोरी ज्वाला समलाई साथमा लिई स्टुडियोमा सुटिङ हेर्न आउनुभएको पनि सम्झन्छन् उनी।

चलचित्रको काम पूरा भएपछि नेपालीहरू बसोबास गरेका ठाउँहरू पत्तो लगाउँदै प्रिन्ट बोकेर आफैं प्रदर्शनमा समेत खटिएको रमाइलारमाइला प्रसंगहरू डीबी परियारबाट सुन्न पाउँछु। गुवाहाटी (असम)को चौधरी टकिजमा ‘हरिश्चन्द्र’ प्रदर्शन गरिएको र शिलाङ, तिनसुकिया, डिगबोई, तेजपुरतिर पनि पहिलोपटक चलचित्र प्रदर्शन–क्रममै आफूले पाइलो टेकाएको उनी बताउँछन्।
निकै बेरसम्म ‘हरिश्चन्द्र’को सुटिङ र प्रदर्शनबारेको बेहोरा उनीबाट सुनिसकेपछि म उनलाई ‘चलचित्र हरिश्चन्द्रको निर्देशन कसले गरेको थियो?’भनी सोध्छु।उनी अकमकिएर मतिर हेर्छन्।सब मैले नै गरेको हुँ, उनी केही बेरपछि बोल्छन्।

तर चलचित्रको क्रेडिट कास्टिङमा गीत र संवाद लेखकमा मात्र तपाईंको नाम छ, निर्देशकमा त अर्कैका नाम छ रे नि ?’, म सकेसम्म उनलाई नबिझाउने गरी हाँस्दै सोध्छु।उनको अनुहारको तेजसँगै बोली पनि खस्केको चाल पाउँछु उनी बोल्दा, ‘कसले भनेको तपाईंलाई ?’

म केही बोल्दिनँ। दराज उघारेर ‘हरिश्चन्द्र’को पोस्टरको फोटो झिक्छु र उनको हातमा राखिदिन्छु। पोस्टरको फोटो केही बेर हेरेपछि उनी हतास बनेजस्तै महसुस भइरहन्छ मलाई । निकै चिसो र नबुझिने मासिनो बोलीमा उनले केही बर्बराइरहेझैं पनि लागिरहन्छ मलाई।
बसेको सोफाबाट एक्कासि उनी उठ्छन्। केही नबोली पोस्टरको फोटो मेरो अगाडिको टेबुलमा सुस्तरी राखिदिएर तत्काल त्यहाँबाट उनी गइहाल्छन्।उनको भावदशा बुझेकाले मलाई उनी त्यसरी हिँडिहाल्नु अनौठो लाग्दैन।

उनको चित्त दुखाउन पो पुगेँ कि भन्ने ग्लानिबोधले भने मलाई लखेटिहरेको हुन्छ। तर म ती क्षणहरूमा उपायहीन थिएँ । सत्यतथ्यसम्म पुग्न मैले केही त मूल्य चुकाउनुपर्थ्‍यो-पर्थ्‍यो।…डीबी परियारले नेपाली चलचित्र निर्माणको प्रारम्भिक चरणमा खेलेको सिर्जनात्मक भूमिकाका निम्ति अहिले पनि उनीप्रति मेरो मनमा सम्मानभाव यथावत् छ तर उपलब्ध साक्षी-प्रमाणका आधारमा ‘हरिश्चन्द्र’का निर्देशक उनी थिएनन् भन्ने तथ्यमा भने म दृढतासाथ अडिएको छु।
avinashshrestha55@gmail.com
साभार:अन्नपुर्ण पोष्ट

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top