Breaking News
Loading...

राजमार्गमा नयाँ यात्री:बिपिन

गोकर्ण गौतम,कान्तिपुर, ४ पौष ।
एउटा अभिनेताको सफलता हो, असली नामभन्दा पात्रमार्फत परिचित हुनु । त्यो पनि भिन्नभिन्नै । यसअर्थमा विपिन कार्की सफल अभिनेताको कोटीमा दरिइसकेका छन् । किनभने विपिन कार्की धेरैलाई नौलो नाम लाग्न सक्छ । तर ‘छड्के’ को विन्दू माझी, ‘ताण्डव’को रक्साहा ड्राइभर र ‘सुन्तली’ को चोर परिचित हुनसक्छन् ।bipin karki pashupati prasad filmybazar‘पशुपतिप्रसाद’को ट्रेलरमा देखिएका खुइले र सन्काहा केटोले पनि बिस्तारै ध्यान खिच्दैछ । लुक्स र बोल्ने शैली नितान्त फरक भएका यी चार चरित्रमा देखिने अभिनेता उनै विपिन हुन् । उसो त उनी ‘लुट’ र ‘आचार्य’मा पनि झुलुक्क देखिएका थिए तर कसैले ‘मार्क’ गरेनन् । विन्दु माझी र त्यसपछिका चरित्रले भने उनलाई आम अभिनेताभन्दा अलग बनायो । फिल्मी करिअर सुरु गरेको तीन वर्षमै उनले आफूलाई ‘भर्सटायल एक्टर’ विशेषणको हकदार बनाएका छन् । भलै नाटकका दर्शकमाझ ‘छड्के’भन्दा पहिल्यै विपिन राम्रा अभिनेताका रुपमा चिनिइसकेका थिए । फिल्मले त उनलाई क्लासबाट मासमा पुर्‍याएको मात्र हो ।

‘अभिनयकै लागि जन्मिएको’ वा ‘बच्चैदेखि अभिनयको भूत सवार भएको’ जस्ता बनिबनाउ जवाफ दिन रुचाउँदैनन् विपिन । कारण, उनको अभिनय यात्रा र सफलता ‘संगत गुनाको फल’ रहेछ । यसरी उनमा अभिनयको रस पसाउने अरु कोही नभएर कलाकार कमलमणि नेपाल हुन् । विपिनलाई लाग्छ, कमलमणिको साथ, प्रेरणा र संगत नपाएको भए अभिनयसँग सायदै प्रित बस्थ्यो । सँगै सहोदर दाजु अर्जुन कार्की उनको अभिनय यात्रामा प्रत्यक्ष/अप्रत्यक्षरुपमा जोडिएका छन्, जो कुनै बेला मूलधारका फिल्ममा व्यस्त थिए । तर दाई फिल्मको हिरो भए पनि विपिनको पाइला नाटकबाट अघि बढ्यो ।

मोरङको बाहुनीमा बित्यो विपिनको बाल्यकाल । चाडबाडमा कमलमणि र अर्जुनले गर्ने नाटकमा आक्कलझुक्कल देखिन्थे । ‘नाटक कसरी खेलियो थाहा छैन तर सबैले स्यावासी दिन्थे,’ उनले पुराना दिन सम्झिए, ‘पछि दाईहरु काठमाडौं आउनु भयो । गाँउमा नाटक हुनै छाड्यो । सम्बन्धै टुट्यो ।’ ०५५ सालमा एसएलसी सके र राजधानीको बाटो तताए ।

स्नातकमा पुगेपछि कमलमणिसँग भेटघाट बाक्लियो । त्यतिबेला कमलमणि आरोहण गुरुकुलसँग आबद्ध भइसकेका थिए तर गुरुकुलको आफ्नै थिएटर थिएन । बेलाबेलामा प्रज्ञा भवनमा नाटक मञ्चन हुन्थ्यो । विपिन कमलमणिको पछिपछि लाग्थे, नबिराई नाटक हेर्थे । दर्शकमा सिमित उनी विस्तारै ब्याक स्टेजका काममा सघाउन थाले, सामान बोक्नेदेखि स्टेज  मिलाउनेसम्म । कलाकारसँग हिमचिम बढ्दै गयो । सौगात मल्ल र राजकुमार पुडासैनीसँग त्यही ताका भेट भएको हो । उनी भन्छन्, ‘त्यतिबेलै मलाई नाटक खेलौं–खेलौं जस्तो लागेको थियो तर सबै सिनियर भएकाले भन्ने आँटै आएन ।’

तर समयको खेल कसले देखेको थियो र ? उनले नाटक खेल्छु भन्नै परेन, गुरुकुल आफैंले उनलाई ‘नाटक खेल्ने हो ?’ भनेर सोध्यो । ०६३ सालको कुरा हो यो । संविधानसभाको पहिलो निर्वाचन हुँदैथियो, जनतालाई मत हाल्न अभिप्रेरित गराउने सडक नाटक गर्नुपर्ने भयो गुरुकुलले । तर पर्याप्त कलाकार थिएनन्, यसकै साइत जुर्‍यो विपिनलाई । सुनील पोखरेलले स्पटमै मिनि–अडिसन लिए, जड्याहाको अभिनय गर्न लगाएर । उनले सम्झिए, ‘सुनील सरले मुसुक्क हाँस्दै हुन्छ हुन्छ भन्नुभयो । तर मलाई पत्यारै लागेको थिएन ।’ सुरुमा सहायक भूमिका पाए तर सडक नाटककै क्रममा अर्को संयोग जुर्‍यो, कलाकार रामहरी ढकालको स्वर बस्यो, त्यो भूमिकामा विपिन चुनिए । १० दिनमा राजधानी वरपरका ५५ स्थानमा नाटक मञ्चन भयो । तैपनि उनलाई कहिल्यै भिंmजो महसुस भएनछ, बरु रमाइलो लागेछ, अर्कोतिर पहिलो नाटकबाटै पैसा पाए । दाम पनि, सन्तुष्टी पनि । अनि किन नलागोस् त नाटकको लत ?

पहिलो स्टेज नाटक ‘ताराबाजी लै–लै’ पनि भाग्यले पाएका रहेछन् । तारावाजी लै–लैको रि–स्टेज हुने भयो तर पहिले खेलेका कलाकार सम्पर्कमा थिएनन् । उनले मौका पाए । खुशी हुँदै भन्छन्, ‘विस्तारै म गुरुकुलको पार्ट टाइमर कलाकारमध्ये पहिलो रोजाईमा पर्न थालें ।’ चाह त उनको गुरुकुलको होस्टेलमै बस्ने थियो तर भन्ने आँट कहाँ हुनु ? एक साँझ गुरुकुलको क्यान्टिनमा झोक्राएर चिया पिउँदै थिए । सुनील पोखरेल सम्मुख आए र सोधें, ‘ओ केटा, गुरुकुलमा बस्ने हो ?’ ढुंगा खोज्दा देउता मिलेजस्तो । विपिन मुस्कुराए, ‘मेरो लक्ष्य नै छात्रवृत्ति पाएर गुरुकुलको होस्टेलमा बस्ने थियो । त्यसैले सुनील सरको बोली खस्न नपाउँदै हुन्छ भनें ।’

गुरुकुल बसाई पछि सौगात, भोलाराज सापकोटा र राजकुमार पुडासैनीजस्ता नामी कलाकारसँग संगत बढ्यो । कम बोल्ने तर धेरै सिक्न खोज्ने साझा बानीले उनलाई सौगातसँग नजिक्यायो । सौगातसँग उनले कहिल्यै औपचारिक प्रशिक्षण लिएका छैनन् तर खास गुरु सौगातलाई नै मान्छन् । किन त ? भन्छन्, ‘अभिनय ट्रिक, टेक्निक र फिलिङ्स हो भन्ने सौगात दाईबाटै सिकें । यसले अभिनयमा स्वभाविकता र जीवन्तता ल्याउन सहयोग पुर्‍यायो ।’ होस्टेलमा कहिले आगो ताप्दै त कहिले गीतार बजाउँदै अभिनय र पात्रका बारेमा छलफल गरेरै कयौं रात कटाएका छन् उनी र सौगातले ।

सौगातको संगत र नियमित प्रशिक्षणले विपिनमा निखरता देखिन थाल्यो । सहायकबाट विस्तारै मुख्य भूमिकामा बढोत्तरी भयो । ‘डिजायर अन्डर द आल्म ट्री’, ‘सेतो कपाल’, ‘बुख्याचा’, ‘अटलबहादुरको आतंक’जस्ता नाटकमा प्रमुख पात्रका रुपमा देखापरे । तर, दूर्भाग्य के भइदियो भने, विपिन ‘राइज’मा आउँदै गर्दा गुरुकुल बन्द भयो । जंघार तर्दातर्दै लौरो भाँचियो ।

यसपछि आयो, सिनेमा । निगम श्रेष्ठले एक दिन अफर ल्याए, ‘छड्के’को विन्दु माझीको भूमिकाको । भड्काउ शैलीको, दादागिरी देखाउन खोज्ने, केही कमेडी पनि तर यर्थाथमा गुदी नभएको पात्र जन्माइयो विन्दु माझी । यसको हुलिया, बोल्ने शैली र एडिट्युड निगमको सल्लाहमा विपिन आफैंले आर्किटेक्ट गरेका हुन् । संवाद पनि निखारे । ख्याउटे ज्यान भए पनि विन्दूको फुर्ती ठूलो । पहेलो कपाल हाले, दाह्री पनि रंगाए । नभन्दै नेपाली फिल्ममा देखिएका पात्रभन्दा हरेक कोणबाट भिन्न बन्यो विन्दू । त्यसो नहुँदो हो त, सौगात, दयाहाङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, रविन तामाङजस्ता स्टारको हुलमा विन्दु र उसले बोलेका संवाद कसरी मार्क हुन्थ्यो होला, ट्ेरलर रिलिज हुनासाथ । विपिन भन्छन्, ‘नकारात्मक र घीनलाग्दो भए पनि विन्दू रुचाइयो । मैले जस्ता आवारा टाइपका केटासँग प्रभावित भएर पात्रलाई फिनिसिङ दिएको थिएँ, उनीहरु नै फ्यान हुँदा साँच्चै राम्रो काम गरेछु भन्ने आभाष भयो ।’

‘ताण्डव’मा बोर्डर एरियाको ड्राइभर बन्दा उनले हुलिया मात्र होइन्, शरीरको वजन र बोल्ने लवज पनि पृथक बनाए । उनलाई लाग्छ, पात्रको मनोविज्ञान, पृष्ठभूमि, हाउभाउ, हुलिया, नियतजस्ता पक्षको गहिरो अध्ययन गरेपछि मात्र जीवन्तता आउँछ । त्यसैले हरेकपटक यही सुत्र पछ्याउँछन् । मीन भामको ‘कालो पोथी’मा उनलाई दलीत मुगेलीका रुपमा देख्न पाइनेछ । उनले बाँचेको जीवन र यो पात्रबीच सायदै केही समानता होला । त्यसैले पात्रलाई नजिकबाट नियाल्न मुगुको कार्की वडामा दुई महिना बिताए । त्यो पनि गाउँलेलाई आफ्नो वास्तविकता पत्तै नदिई । भाषा, लवज, भेषभुषा र मनोविज्ञान टिपेपछि बल्ल ‘काथो पोथी’मा टेक दिए ।

‘पशुपतिप्रसाद’मा भस्मे डन बन्नु अगाडी धेरै दिन पाशुपत क्षेत्र चहारे । चरित्रलाई सुहाउँदो र फरक बनाउनकै खातिर कपाल खुईल्याए, सानो टुप्पी राखे, पुलिसवाला चस्मा लगाए । स्वर भाँसिएको छ । पात्रको यो रुपरेखा उनले नै तयार पारेका हुन्, पछि निर्देशक दीपेन्द्र के. खनालले सहमति जनाए ।

छड्के खेलिरहँदा विपिनलाई भोलि के गर्ने होला भन्ने चिन्ताले सताउँथ्यो, अभिनय गरेरै जीवन बित्ला त भन्ने भयले मुटुको धड्कन बढाउँथ्यो, कहिलेकाही भविष्य अन्धकार देख्थें, फ्रस्टेसन पनि हुन्थ्यो तर पाँच वटा फिल्म खेलेपछि भविष्यप्रतिको अन्यौल हटेको छ । त्यो भनेको, अभिनयबाहेक अरु केही गर्दिनँ वा सक्दिनँ भन्ने आत्मनिर्णय र निक्र्योल हो । ‘हिजो अभिनयको कच्ची बाटोमा थिएँ, आज हाइवेमा निस्केको छु । यात्रा कति लामो र सफल होला, भोलीको कुरा,’ विपिन थोरै मुस्कुराए, ‘तर अभिनयप्रतिको इमानदारिता र लगनसिलताको ग्राफ भने सधैं उकालै लाग्छ ।’

यो आत्मविश्वास र दृढता आफैंमा एउटा उपलब्धी हो । उनका लागि अर्को खुसीको कुरा के पनि छ भने, फिल्म बजारमा अनुहारभन्दा अभिनयको भाउ माथि पुगेको छ ।

साभार:कान्तिपुर दैनिक ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top