Breaking News
Loading...

अहिले सम्म कुमारी नै छु : कोमल वली

फिल्मीबजार, १५ मंसिर २०७४,काठमाण्डौ ।
हाम्रो परिवार पुख्र्यौली थलो रोल्पाबाट दाङको टिकरी झरेको हो । वैशाख १ गते म त्यहीँ जन्मिएँ । टिकरी विकट गाउँ थियो, स्कुल जान नै दुई/तीन घन्टा हिँड्नुपर्थ्यो ।त्यसैले बुबाले हामीलाई स्कुल जान घोडा किनिदिनुभएको थियो । दाइ र म त्यही घोडा चढेर स्कुल जान्थ्यौँ । पछि टिकरीको सम्पत्ति पनि बेचेर हामी स्कुलनजिकै भएको दाङकै दोगरीमा सर्‍यौँ ।स्कुलमा पढ्थेँ, गाउँथेँ अनि खेलकुदमा पनि सक्रिय थिएँ । वीरेन्द्र रनिङ सिल्ड प्रतियोगितामा स्कुललाई सबैभन्दा बढी गोल्डमेडल दिलाउने खेलाडी म नै हुन्थेँ ।

स्कुलमा मात्र होइन, दाङभरि नै म सहभागी नभएको कार्यक्रम नै हुँदैनथ्यो । र, जहाँ गए पनि मेडल जितेरै र्फकन्थेँ । खेलकुद, गायन तथा नृत्यमा जितेको कचौरा, गिलास र थालले टिनको एउटा बाक्सा नै भरिएको थियो ।०४४ सालमा महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ । महेन्द्र बहुमुखी क्याम्पसमा पोलिटिकल साइन्स लिएर ग्रयाजुएसनसम्म पढेँ ।त्यसबेला लभ गर्ने वातावरण थिएन
घरमा बुबा हार्मोनियम बजाएर भजन गाउनुहुन्थ्यो । दाइ, म, भाइ र बहिनी बुबाले भजन गाउँदै जसोजसो भन भन्नुहुन्थ्यो त्यसैत्यसै भन्थ्यौँ । हामी लोकभजन मात्रै गाउँथ्यौँ । पूजाहरूमा पनि मैले गाउनैपथ्र्यो । पूजा हुने घरका मान्छे मलाई लिन कुरेर बसिरहन्थे ।
घरबाट पठाउन मान्दैनथे, तर उनीहरू कुरिरहन्थे । पूजामा भजन सकिएपछि छोरेटी/छोरेट्टा -भनाभन गरेर युवायुवतीले गाउने दोहोरी गीत) सुरु गरिहाल्थ्यौँ । त्यसबेला लभ गर्ने, घुम्ने ठाउँ अथवा वातावरण नै थिएन ।
नाइटबसमा मेरो गीत घन्कियो
रेडियो नेपालले प्रजातन्त्र दिवसका उपलक्ष्यमा अधिराज्यव्यापी खुला लोकगीत प्रतियोगिता गथ्र्यो । ०४४ सालमा त्यही प्रतियोगितामा भाग लिन हामी दाङबाट एउटा टिम नै आएका थियौँ, गोविन्द आचार्य दाइको नेतृत्वमा । मादल बजाउने मान्छेले अलिकति ताल बिगारिदिए, त्यसैले हामी सेकेन्ड भयौँ ।
नन्दकृष्ण जोशी दाइ फस्ट हुनुभयो । त्यो प्रतियोगितामा मैले र मेरी बहिनी प्रज्ञाले दोहोरी गाएका थियौँ । हामी सेकेन्ड भयौँ, तैपनि म्युजिक नेपालले हामीलाई एल्बम अफर गर्‍यो । १४ सय रुपैयाँमा पहिलो एल्बम ‘राप्तीको झरना’ गर्‍यौँ । हामी दाङ जाँदा नाइट बसमा हाम्रै गीत बज्थ्यो, सबै यात्रु हामीतिर हेर्थे । हामी पनि खुसीले मख्ख पर्थ्यौं ।
वक्तृत्वकलामा जापान गएँ
सन् १९९२, म कलेज पढ्दै थिएँ । रेयुकाईले वक्तृत्वकलामा उत्कृष्ट हुने प्रतियोगीलाई जापान पठाउने समाचार गोरखापत्रमा पढेँ । दाङमा रेयुकाईको शाखा थिएन, काठमाडौं शाखाबाट म प्रतिस्पर्धी बनेँ । काठमाडौं शाखामा २८ प्रतिस्पर्धी थियौँ । २८ बाट नौ र नौबाट एकजना छानिनुपथ्र्यो । पहिलो नौमध्ये म छैटौँ पोजिसनमा आएँ । र, अर्को चरणमा फस्ट भएँ ।त्यसपछि देशैभरिका अन्य शाखाबाट पनि छानिएर २७/२८ जनाबीच प्रज्ञा प्रतिष्ठानमा फाइनल प्रतियोगिता गरियो । म नै फस्ट भएँ र जापानको ओसाकामा ४७ देशबीच हुने प्रतिस्पर्धामा मैले नेपालको प्रतिनिधित्व गरेँ । नेपालको झन्डासहित ढाकाको साडी र चौबन्दी चोली लगाएर मैले स्पिच दिएकी थिएँ ।
४७ प्रतिस्पर्धीमध्ये मेरो स्पिच ‘एक्सिलेन्ट’ भयो । २७ दिनको भ्रमणपछि उत्कृष्ट बनेर नेपाल फर्किएँ । त्यतिवेला राइजिङ नेपालमा अन्तर्वार्ता आयो । रेडियो नेपालमा समाचार बज्यो ।
यसरी छिरेँ रेडियो नेपाल
मेरो भाइ सिद्धार्थ वनस्थलीमा पढ्थ्यो, म पनि काठमाडौं आउन चाहन्थेँ । तर, बुबाले मान्नुभएको थिएन । ‘तिमीले यहीँ (दाङमै) स्कुल चलाऊ, शिक्षिका बनेर गाउँको सेवा गर र बचेको समयमा राजनीति गरेर यहाँबाट माननीय बन्नुपर्छ,’ उहाँ बारम्बार भनिरहनुहुन्थ्यो । तर, सबैले चिन्ने कोमल वली बन्न मलाई काठमाडौं आउनु नै थियो ।

रेडियोसँग म बढी फेमिलियर थिएँ । बुबा हरदम रेडियो सुन्नुहुन्थ्यो । बिहान ५ बजेदेखि आँगनको पीपलबोटमा रेडियो झुन्डेर बजिरहन्थ्यो । भजन होस् या दुर्गानाथ शर्मा, प्रवीण गिरी वा कृष्ण ताम्राकारका समाचार हुन्, बजिरहेकै हुन्थ्यो । राति ११ बजेपछि मात्रै रेडियो बन्द हुन्थ्यो । रेडियोमा सुनेकै आवाजहरूको म क्यारिकेचर गर्थेँ ।स्कुल, कलेजमा ‘यो रेडियो नेपाल हो, अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुहोस्’ भनेर उहाँकै क्यारिकेचर गरेर समाचार पढ्थेँ । त्यसैले पनि मेरो मन रेडियोमा थियो ।मेरो ध्याउन्न सधैँ रेडियो नेपाल वा नेपाल टेलिभिजनभित्र छिरेर कहिले काम गर्न पाउँला भन्ने मात्र थियो । त्यहीवेला रेडियोले वान्टेड गर्‍यो, चैतमा मैले दरखास्त हालेँ । ०५० वैशाख १ गतेदेखि रेडियो नेपालमा काम गर्न थालेँ ।
दरबारबाटै स्कुलको फी आउँथ्योतत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको तुलसीपुरमा सवारी थियो । त्यतिवेला मैले सानोमा बुबाले सिकाउनुभएको एउटा गीत गाउँदै राजारानीलाई नाच देखाएकी थिएँ । प्रस्तुति सकिएपछि रानी ऐश्वर्यले मलाई स्टेजमा बोलाएर आफूनजिकै राखेर ‘तिमी कति कक्षामा पढ्छौँ ?’ भनेर सोधिबक्स्यो ।मैले ६ कक्षा पढ्छु भनेँ । ‘तिमी राम्रो पढ्नु, म काठमाडौंबाट तिमीलाई पैसा पठाइदिन्छु,’ भनेर हुकुम भयो । त्यसपछि त सिडिओ कार्यालयमार्फत मेरो पढाइका लागि दरबारबाट पैसा आउन थाल्यो । दरबारबाट पैसा आउन थालेपछि मलाई गाउँमा हेर्ने दृष्टिकोण नै परिवर्तन भयो ।मलाई दरबारबाट महिनाको १ सय ५० रुपैयाँ आउँथ्यो । स्कुलको फी मासिक २२ रुपैयाँ थियो, एसएलसी दिँदासम्म बढेर ४७ रुपैयाँ पुगेको थियो ।

मैले ६ कक्षादेखि १० कक्षासम्म दरबारको छात्रवृत्तिमा पढेँ ।कलेज पढ्न थालेपछि एकचोटि राजारानीको हातबाट टीका थाप्न गएँ । दरबारमा टीका थाप्नेको भीड थियो, मेरो पालोमा मैले राजालाई ‘मलाई सरकारबाट छात्रवृत्ति बक्स भा’थ्यो, त्यही छात्रवृत्तिमा पढेकी हुँ, मेरो नाम कोमल वली हो, दाङबाट आएकी हुँ’ भनी टीका थापेर फर्केँ ।मैले रेडियो नेपालमा काम गर्न थालिसकेकी थिएँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राजा वीरेन्द्रको राज्याभिषेकको सिल्भर जुब्ली मनाउने कार्यक्रम थियो । त्यो कार्यक्रममा नेपाली उद्घोषिका म थिएँ ।राजारानीको उपस्थितिमा कल्चरल ग्रान्ड प्रोग्राम थियो । कार्यक्रम सकिएपछि राजालाई भेट्ने लाइन थियो, मेरो पालोमा राजा वीरेन्द्रले भन्नुभयो, ‘तिमी कोमल वली होइन, पहिला टीका लाउन आथ्यौ नि, दाङकी होइनौँ ?’ त्यतिवेला राजाको मानसपटलमा मेरो त्यतिचाहिँ चिनाजानी रहेछ भन्ने थाहा पाएँ ।

धीरेन्द्रलाई ‘चौकीदार’ भनेर दोहोरी गाएँ
एथलेटिक्सतिर मैले पाकिस्तान, बंगलादेश, भारतमा भएको साफ गेम, सोल ओलम्पिकसहित नेपालको तर्फबाट पाँचवटा अन्तर्राष्ट्रिय खेल खेलेँ । तर, कहिले पनि अधिराजकुमार धीरेन्द्र शाहलाई भेट्ने चान्स पाइनँ । ०४१ मा रंगशालामा भएको दोहोरी प्रतियोगितामा हामी नै फस्ट भएका थियौँ, तर त्यहाँ धीरेन्द्र सरकारलाई दोहोरी सुनाउन पाएका थिएनौँ, पुरस्कारचाहिँ उहाँकै हातबाट लिएका थियौँ ।
०४२ सालमा वीरगन्जमा भएको दोहोरी प्रतियोगितामा मेरो र प्रजापति पराजुलीको कम्पिटिसन परेको थियो । गुन्युचोली, गालामा फूल, रातो लिपिस्टिक, गाजल, टीकामा सजिएर गाउन बसेकी थिएँ । धीरेन्द्र सरकार पनि मञ्चमै आसीन हुनुहुन्थ्यो ।दोहोरीको मिठास
दोहोरी गाउँदा मेसो मिल्दै गयो भने मिठास आउँदै जान्छ । दोहोरी गाउने मान्छे मन पर्‍यो झन्झन् भन्न मन लाग्छ । मन नपरेको मान्छेसँग त गाउनै मन लाग्दैन ।अनुहार नै हेर्न मन लाग्दैन । अधिराजकुमार नै अगाडि बस्नुभएको थियो । उहाँलाई देखेरै रमाइला गीत गाउँदै हामी मजा लिइरहेका थियौँ ।सायद दरबारको छात्रवृत्तिमा पढेर होला, ममा अलिकति अहम् थियो । केटालाई अलिकति डोमिनेटेड गरेर आक्रमण गर्ने किसमका गीत गाउँथेँ । हाँसीहाँसी रमाइलो तरिकाले जवाफ दिन्थेँ ।

तत्कालीन सदस्यसचिव शरतचन्द्र शाहले भन्नुहुन्थ्यो रे, ‘धीरेन्द्र सरकार मेरो दोहोरी फर्काउने पालो आएपछि अब यसले के जवाफ दिन्छे भनेर तीन/चारचोटि त जुरुकजुरुक उठेर यताउता सर्थे रे ! मैले जवाफ फर्काइसकेपछि सहन नसकेर फेरि उठ्थे रे !’
मैले प्रजापतिलाई लास्टमा यही नै हान्छु र जित्छु भनेर दुइटा लाइन साँचेरै राखेकी थिएँ । लास्ट स्ट्यान्डमा आइसकेपछि मैले त्यही लाइनले प्रजापतिलाई हानेँ, जुन यस्तो थियो:
मलाई लग्यौ भने हुनेछ धेरै नै मार
लग्नै सक्दैनौ किनभने अगाडि बस्या छ चौकीदार लास्टमा ‘चौकीदार’ भनेपछि चाहिँ धीरेन्द्र सरकारले ‘ओहो सी इज भेरी ट्यालेन्टेड’ भन्नुभयो रे । मलाई कन्फिडेन्स थियो, अधिराजकुमारलाई व्यंग्य गर्दा केही फरक पर्दैन भन्ने । धीरेन्द्र सरकारले मेरो तारिफ गरे पनि अरूले भने कोमल वलीले धीरेन्द्र सरकारलाई ‘चौकीदार’ भनी भनेर ठूलो मुद्दा बनाए । साँझको पार्टीमा राजाकै मान्छेहरूले ‘कस्ती रहिछ त्यो राप्तीबाट आएकी कोमल वली भन्ने त, चौकीदार बनाइदिई नि त अधिराजकुमारलाई’ भने रे !

मैले गोल्डमेडल जितेँ । धीरेन्द्र सरकारकै हातबाट मैले मेडल थापेँ । त्यसपछि उहाँ (धीरेन्द्र सरकार)सँग मेरो कहिल्यै भेट भएन ।
गोजीमा गाँठ र मनमा आँट भा’को केटो माग्न आयो क्याम्पस पढ्दै गर्दा मेरो स्कुलकी साथीको बिहे थियो । उसको बिहे हेरेर मलाई पनि बिहे गर्ने इच्छा जाग्यो । त्यही वेला मलाई हेर्न घरमा केटा पनि आयो । केटा ह्यान्डसम थियो, धनी पनि । यति राम्रो थियो कि, एकदमै मनपर्‍यो मलाई । उसलाई देख्नेबित्तिकै मैले बिहेको सपना देखिसकेकी थिएँ, मेरो परिवारले पनि उसलाई मन पराएको थियो ।

बुबाले मलाई सोध्नुभयो, ‘केटा हामीलाई एकदम मनपर्‍यो, तिमीलाई पनि मनपरेजस्तो छ । तिम्रो बिहे यही केटासँग गरिदिने हो । तर, एकचोटि सोच तिमी कोमल वली बन्ने कि धनी घरकी बुहारी ? भोलि बिहान जवाफ देऊ, तिमीले जे भन्छौ त्यही गरिदिन्छौँ’ भनेर बुबा हिँड्नुभयो ।केटो आफूलाई कस्तो मनपरेको छ । ठूलो डिसिजन लिनुपर्ने थियो मैले । छटपटी चलेर राति ढिलासम्म निदाउन सकिनँ । बिहान उठ्नेबित्तिकै बुबालाई भनेँ, ‘म बिहे गर्दिनँ ।’ त्यसपछि पनि मलाई माग्न कति आए कति, मैले अहिले बिर्सिसकेँ पनि तर सुरुमा माग्न आउने त्यो केटोको भने अझै पनि याद आउँछ ।दुई वर्ष लभ चलेको प्रेमीले ‘किस’ पनि गरेन
०६४ सालमा सोचेँ, अब बिहे गर्छु । ऊ अमेरिकामा थियो । टाढाबाट नाता पनि पथ्र्यो । चिनजान पुरानै थियो, दुई वर्षयता हामी धेरै नै नजिकिएका थियौँ । फोनमा गफिन्थ्यौँ, जीवनलाई कसरी अगाडि बढाउने भनेर छलफल गथ्र्यौँ । मलाई भेट्न ऊ वर्षमा दुईपटक नेपाल आउँथ्यो । त्यतिवेलाको अफेयर रमाइलो थियो, हामी बिहे गर्ने निर्णयमा पुगिसकेका थियौँ ।

कन्सर्टहरूमा म रमाइलो गर्छु । त्यहाँ आएका केटाहरूलाई स्टेजबाटै ‘आई लभ यु’ भन्छु, सँगसँगै उनीहरू पनि ‘आई लभ यु टु’ भन्छन् । ‘मसँग बिहे गर्न चाहने गोजीमा गाँठ भाको, मनमा आँट भाको केटा कोही छ’ भनेर सोध्छु । पोइल जान पाम… भनेर गाउँछु ।
त्यस्तो भिडियो युट्युबमा आएका हुन्थे । ऊ अमेरिका फर्केपछि ती भिडियोहरू हेरेछ । त्यसपछि त एकदम शंकास्पद कुरा गर्ने, घोचपेच गरेर बोल्न थाल्यो । फोनमा पनि राक्षसीपना प्रदर्शन गर्न थाल्यो । पत्रिकामा छापिएका अन्तर्वार्ताबारे पनि तर्क मात्रै गथ्र्यो ।

बिस्तारै-बिस्तारै झगडा पनि गर्न थाल्यो, तर त्यस्ता कुराको म वास्ता गर्दिनथेँ । पाइला-पाइलामा प्रश्न सोध्थ्यो । म भने उसको बानीदेखि आजित हुन थालिसकेकी थिएँ । मलाई अलिअलि टेन्सन हुन थाल्यो । भेटै कम भयो भने पनि ‘ठीकै छ’ भन्ने लाग्न थालिसकेको थियो ।
उसलाई त मेरो नामसँग पनि ‘इगो प्रोब्लम’ हुन थाल्यो । फोन बिजी हुँदा पनि प्रश्न गथ्र्यो, राति अबेर हुँदा पनि प्रश्न नै गथ्र्यो । हामी सँगै याक एन्ड यती, अन्ना गएर कफी पिउँथ्यौँ, ब्रेकफास्ट, खाना खान्थ्यौँ । त्यहाँ मलाई चिन्ने र मैले चिनेका धेरै मान्छे भेटिन्थे । उनीहरू बोल्न आएपछि मलाई त्यहीँ छाडेर केही नभनी हिँडिदिन्थ्यो । मलाई सबैले चिन्थे, उसलाई कसैले पनि नचिन्ने । सायद उनलाई त्यसमा ‘प्रोब्लम’ थियो ।केटा साथीहरूलाई ‘उहाँ मेरो साथी (फिहान्से)’ भनेर चिनाउँथेँ, तर ऊ हातै मिलाउँदैनथ्यो । उनीहरू बोल्न आए पनि ऊ कुरै नगर्ने । सायद उसलाई शंका लाग्थ्यो- त्यो मान्छे मेरो पहिलाको ब्वाइफ्रेन्ड हो भनेर । त्यति लामो समय हामीबीच अफेयर चल्यो, तर उसले एकपल्ट पनि मलाई ‘हग’ गरेन ।

एकपल्ट पनि मेरो ओठमा ‘किस’ गरेन । ऊ नजिकै बस्दैनथ्यो । म आफैं ऊ नजिक टाँसिएर बस्थेँ, ‘के छ त हालखबर’ भनेर सोध्थेँ । अचम्म, त्यसमा पनि उसले शंकाको नजरले हेथ्र्यो, ‘अहो ! यो त अरूसँग पनि यसरी नै बस्छे होला’ भनेर ।
उसको साइकोलोजी मैले बुझिहाल्थेँ । त्यसपछि म आफैं सतर्क हुन्थेँ । केटीहरू आफ्नो ब्वाइफ्रेन्डसँग लपक्क टाँसिएर बसे भने केटाहरूलाई नकारात्मक सोच पैदा गर्दो रहेछ ।

अंकमाल गर्नु, ‘किस’ खानु अहिले सामान्य कुरा हो । साथीभाइ भेट्दा पनि ‘हग’ गर्छन्, ‘किस’ खान्छन् । त्यो त प्रेम अभिव्यक्ति गर्ने माध्यम नै हो नि । त्यहीमाथि केटाहरू केटीको अलि नजिक आउन खोज्छन् । तर, ऊ त्यस्तो केही नगर्ने भन्यो। सोच्थेँ- किन ऊ मेरो नजिक आउन खोज्दैन ? कतै ममा केही कमजोरी छ कि ? पछि त मलाई ऊमाथि नै शंका लाग्न थाल्यो । ‘पक्कै यो केटोमा केही कमी छ’ जस्तो लाग्न थालेको थियो । होइन भने त्यति लामो प्रेमसम्बन्ध चल्दा पनि कुनै केटाले आफ्नो गर्लफ्रेन्डलाई अंगालो मार्ने, किस गर्ने गर्दैन ?
ऊसँगको सम्बन्धबारे मेरो परिवार र नजिकका साथीभाई सबैलाई थाहा थियो । उनीहरूलाई पनि त्यो केटो मेरा लागि ‘फिट’ छैन भन्ने लागेको रहेछ । दिदीहरू भन्थे, ‘यो मान्छे तिम्रो लागि एकदम फिट छैन । मान्छे राम्रो छ, तर तिम्रो विचार, तिम्रो शैली कुनैमा पनि त्यो फिट हुँदैन ।

धनसम्पत्ति भएर के गर्छौ ? तिम्रो योसँग जिन्दगी चल्दैन, बिहे नगरी नछाड्ने हो भने यस्तो मेन्टालिटी बनाएर बिहे गर्नु कि योसँग बिहे गर्छु अनि, बच्चा पाएर डिभोर्स गर्छु ।’ सुरुमा दिदीहरूका कुरा नराम्रा लाग्थे । तर, उनीहरूले ठीकै भनेका रहेछन् ।
दक्षिणकालीमा कसम खुवायो-अरूसित प्रेम थियो कि थिएन ?ऊ काठमाडौँ आएको वेला दिदीहरूसँगै हामी दक्षिणकाली दर्शन गर्न गएका थियौँ । मन्दिरअगाडि पुग्नेबित्तिकै उसले मलाई सोध्यो, ‘दक्षिणकालीको अगाडि छौं, लौ भन मबाहेक तिमीले अहिलेसम्म अरू कसैलाई प्रेम गरेकी छैनौ ?’मन्दिरअगाडि उसले कसम खुवाउने ढंगले त्यस्तो प्रश्न गरेपछि मेरो रिसले सीमा नाघ्यो । कुनै पनि महिलालाई उसको स्वाभिमान वा प्रतिष्ठामाथि प्रश्न गर्नुहुँदैन । यदि कुनै केटीमाथि विश्वास छैन भने ऊसित प्रेमको हात नै नबढाऊ । र, विश्वास छ भने त्यस्ता कुनै प्रश्न नगर ।

स्कुल जीवनदेखि नै प्रेम गर्ने प्रेमीहरू कति हुन्छन् ? कति लभलेटरहरू आए होलान्, कतिले त मेरो हातै समाउन आए होलान् । कतिसँग म नजिक पनि भएँ हुँला । सुन्दरी छु, मेरो मनभित्र पनि चाहना छ ।मलाई मान्छेहरूले मन पनि पराउँछन् । मन नपराए त म वैराग्य भइहाल्छु नि । एउटा सच्चा प्रेमीले त ‘मेरी प्रेमिकालाई लाखौँ मान्छेले मन पराओस्, हरेक मान्छेले छुन चाहोस्’ भनेर पो सोच्नुपर्‍यो नि ! एउटाले मात्र हेरेर त उसकी प्रेमिका कसरी लोकपि्रय हुन सक्छे त ?उसको प्रश्नले मलाई साह्रै दुःखी बनायो । ‘तिम्रो दरिद्र मानसिकता ! तिमी एक्काइसौँ शताब्दीको पुरुष हुनै सक्दैनौँ एउटी महिलालाई मन्दिरको अगाडि यस्तो प्रश्न गर्न सक्ने ।

तिम्रो अहंकारी भावना, तिम्रो पुरुषत्व, तिमीलाई सधैँभरि बधाई छ । तिमी जिन्दगीमा कहिल्यै सुखी हुने छैनौ’ उसलाई यति भनेर म त्यहीँबाट फर्किएँ । त्यही दिन नै ऊसँगको मेरो अन्तिम दिन भयो । ऊप्रतिको मेरो माया सिसा फुटेझैँ एकैछिनमा झर्‍यामझुरुम भयो ।
त्यसपछि पनि उसले फोनमा माफी माग्दै धेरैपटक फकाउन खोज्यो । ‘सरी, मबाट गल्ती भयो । तर, तिमीले ‘हो प्रेम थियो’ भनेको भए पनि फरक पर्दैनथ्यो ।त्यसरी हाम्रो प्रेम नै ‘इन्ड’ भन्नुपर्ने कुरा के थियो र !’ भन्दै ऊ पटकपटक माफी माग्थ्यो । तर मैले उसको वास्तै गरिनँ । त्यसपछि एक/दुईवटा कार्यक्रममा टाढैबाट देखेँ, तर भेटघाट र बोलचाल भएन ।रारामा हनिमुन मनाउने सपना अधुरै
जब म गहिरो प्रेममा थिएँ, त्यतिवेला सोच्थेँ- ‘हनिमुन त जरुर रारा तालको किनारमा मनाउँछु ।’ तालको किनारमा राराकी अप्सरा बनेर श्रीमान्सित दिनभरि बिताउने मन थियो । तर, त्यो सपना नै रह्यो ।पछि, म एक्लै रारा पुगेँ । त्यहाँ पुगेपछि सोचेँ, ‘वास्तवमा म हनिमुनमा आउनलाई बनेकै रहेनछ रारा, म एक्लै आउनलाई बनेको रहेछ ।’ यदि म हनिमुनका लागि रारा पुग्दा बोटिङ गर्ने वेला उसले (श्रीमान्) ‘यस्तो नगर’ भन्थ्यो होला । ‘दिनभरि कति बसेको, हिँड’ भनेर कर गथ्र्यो होला ।

म पूरै दिन राराको किनारमा बसेर कविता लेखेको छु । राराको वरिपरि घुमेको छु । इट वाज भेरी वन्डरफुल मुमेन्ट इन माई लाइफ । हनिमुनमा फलानो ठाउँ जान्छु भनेर कसैले नसोच्नु, त्यो पूरा हुँदैन । भइसकेपछि सोच्नु, हुनेभन्दा पहिला नसोच्नु । सोचेका कुरा केही पूरा हुँदैन । कर्ममा विश्वास गर्ने, जे अगाडि आउँछ त्यो गर्ने हो ।

अहिले पनि प्रेममै छु
गीत गाएर नाम कमाएको हुनाले कोमल वलीको घरजम कहिले होला भन्ने फ्यानहरूको चासो हुन्छ, छ । उनीहरूको चासोबाट म लुक्न सक्दिनँ, न भाग्न नै सक्छु । ढुक्क भए हुन्छ, तत्कालै मैले घरजम गर्नेवाला छैन ।बिहे गर्न जरुरी छ, बिहे भए राम्रै हो । तर, नगर्नेको जिन्दगी कस्तो छ भन्ने बिहे गरेकाले बुझेका छैनन् । त्यसैले उनीहरू बिहे नगरेर जीवन अपूरो भो भन्छन् । जीवनमा दुईजना हुनु राम्रो हो, एक्लो हुनु झन् राम्रो हो । यसो भन्दैमा म विवाहको विरोधी कदापि होइन ।

प्रेमविना मान्छेको जीवन नीरस हुन्छ । प्रेमले जीवनमा रस भरिदिन्छ । एकछिन कुरा गर्दा पनि आनन्द आउँछ । दुःख बिसाउन पाइन्छ । परिवारका सदस्यले गर्ने प्रेमभन्दा पनि एउटा साथीको प्रेम धेरै आवश्यक छ । म पनि अहिले प्रेममै छु । प्रेम चरम उत्कर्षमा पुगेपछि बिहे गरौँला नि ! तर, अहिल्यै बिहेबारे योजना बनाएकी छैन । बिहे नगर्ने निर्णयमै पनि पुगेकी होइन ।

विश्वास गर्नुस्, कुमारी नै छु
हरेक मान्छेमा शारीरिक आवश्यकता हुन्छन् । सेक्स (फिजिकल रिलेसन)का लागि बिहे जरुरी छैन । तर, मेरो दृष्टिकोणमा दुईजनाबीच बिहे भएपछि मात्रै यस्तो सम्बन्ध राख्नु राम्रो । प्रेममा हुनासाथ शारीरिक सम्बन्ध पनि हुन्छ भन्ने होइन । म बिहे नगरी प्रेममा सम्बन्ध (फिजिकल रिलेसन) राख्न सक्दिनँ । प्यास लागे न पानी खाने हो । प्यास नलागेको मान्छेले पानी खोजेर त हिँड्दैन नि ।
समाज मोडर्न हुँदै गइरहेको छ । तर, हाम्रो संस्कृति, संस्कार परिवर्तन भएको छैन नि । म इमानदारीपूर्वक भन्छु- ब्वाइफ्रेन्ड बनाएर, शारीरिक सम्बन्ध राखेर बिहे नगर्ने मान्यताको मान्छे म हुँदै होइन । मेरो त ‘क्लियर कट’ कुरा छ, म ब्वाइफेन्ड बनाउँदै, फेर्दै हिँड्दा पनि हिँड्दिनँ । मेरो त्यस्तो क्यारेक्टर पनि छैन । संयुक्त फेमिलीमा बस्छु । विश्वास गर्नुस्, म अझै कुमारी छु । र, गर्वका साथ भन्छु- म संस्कारी र सुसंस्कृत छोरी हुँ ।

श्रीमानमा हुनुपर्ने सबै गुण राजेश हमालमा छन्
राजेश हमालसित ‘राजनीति’ फिल्ममा सँगै काम गरेँ । उहाँसँग मेरो जोडी बाँधिएको हेर्ने इच्छा धेरैले सुनाउँछन् । सुटिङमा हामीबीच कार्यक्रममा जाने कुरा हुन्थे । कार्यक्रमबाट फर्किँदाका घटनाबारे कुरा हुन्थे, राजनीतिका कुरा हुन्थे । तर, हाम्रोबारे चलेका हल्लाको कुरा कहिल्यै भएनन् । बरु, अरूचाहिँ त्यही कुरा गरेर जिस्काउँथे । एउटा श्रीमान्मा हुनुपर्ने धेरै गुण राजेश हमालमा देख्छु । उनी राम्रा छन् । सुपरस्टार छन् । सबैतिर नाम छ । तैपनि, म उनलाई मेरो अपोजिटमा कदापि देख्न सक्दिनँ ।

लान पाम् भन्नेले लगेन गीतमार्फत तिजको गीतमा नयाँ स्वाद दिन हामीले चुनौती मोल्यौँ । गीत विवादमा पर्छ भन्ने हाम्रो पूर्वानुमान थियो । त्यसैले ‘पोइल जान पाम’को ठाउँमा ‘बिहे गर्न पाम’ शब्द राख्यौँ । तर, गीतकारले शब्द फेर्न मान्नुभएन । उहाँले शब्द फेर्ने भए गीत नै दिन्न भन्नुभयो । पोइल भनेको आफूले लभ गरेको केटासँग जाने भन्ने कुरा त हो नि, जे पर्लापर्ला भनेर रिस्क मोलेँ ।

गीत सबैबाट रुचाइएपछि सुमन बुढा भाइले ‘पोइल जान पाम भन्नेलाई मैले लान पाम’ भन्ने गीत गाए । त्यो गीतको विरोधमा अदालतमा मुद्दा नै हाल्ने तयारीसमेत भएको थियो । पछि मुद्दाले वैमनस्यता र झगडा बढाउँछ भन्ने सोचेर म अदालत गइनँ ।पछि सुमनले पनि भेट हुँदा माफी मागेँ । ‘हजुरलाई अगाडि राखेर सोध्न सकिनँ । भेट्न सकिनँ । कुरा गर्ने हिम्मत पनि भएन । मबाट गल्ती भएको भए माफी चाहन्छु,’ उसले माफी माग्यो ।

त्यसपछि ऊसँग लामो समय भेट भएन । एक दिन मैले आपै“m फोन गरेर उसलाई बोलाएँ । ऊ डराउँदै आयो ।पूरै नर्भस थियो, उसलाई सजिलो होस् भनेर मैले खुलेर कुरा गरेँ, जिस्किएँ पनि । मैले रमाइलो गर्दै ‘पोइल लाने हो त’ भनेर जिस्किएँ । ‘पाए त हजुरलाई किन नलानू,’ घोप्टो परेर उसले जवाफ दियो । मैले फेरि ठट्टा गर्दै सोधेँ, ‘साँच्ची लान्छौ त, आँट छ ?’ ऊ घोप्टो परेर ‘लान्छु, लान्छु’ मात्र भनिरहन्थ्यो ।

-Hamrosandesh.com 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top